एउटै बजारमा दुईवटा महोत्सव

0
Shares

अमृत अर्याल , स्याङ्जा। 

गल्याङ बजार जिल्लाको तेस्रो व्यापारिक केन्द्रको रूपमा परिचित बजार हो। यो बजार यतिबेला मेलामहोत्सवले आर्थिक रुपमा धारासायी हुने हो कि भन्ने चिन्तामा छ। गल्याङ नगरपालिकाले दुई उद्योगी व्यवसायीको संस्थालाई समन्वय नगरीदिँदा एकै महिनाको अन्तरालमा दुई महोत्सव हुँदैछन्।

उद्योग वाणिज्य संघ गठन भएपछि गल्याङ उद्योग वाणिज्य संघले हरेक वर्ष महोत्सव गर्दै आएकोमा भर्खर मात्रै गठन भएको गल्याङ चेम्बर अफ कमर्सले पनि महोत्सव गरिरहेको छ। उद्देश्य एउटै बोकेका संस्थाले फरक–फरक तवरले महोत्सव आयोजना गर्दा गल्याङ बजार र आसपासका क्षेत्र आर्थिक रूपमा धरासायी हुने भन्दै व्यवसायीहरू चिन्तित देखिएका छन्।

उद्देश्य एउटै बोकेका संस्थाले फरक–फरक तवरले महोत्सव आयोजना गर्दा गल्याङ बजार र आसपासका क्षेत्र आर्थिक रूपमा धरासायी हुने भन्दै व्यवसायीहरू चिन्तित देखिएका छन्।

संघीय संरचनामा मुलुक गएपछि ३ तहको सरकार निमार्णसँगै स्थानीय स्तरमा हुने मेलामहोत्सवको स्विकृती स्थानीय सरकारसँग लिनुपर्ने व्यवस्था रहेको बताइएको छ। कुनैबेला स्याङ्जामा एउटा, दुईटा मेलामहोत्सव हँुदै आए पनि पछिल्लो समय भने टोलैपिच्छेजस्तो गरी मेलामहोत्सव हुँदै आएका छन्।

२०७६ सालमा स्याङ्जामा करिब एक दर्जन मेलामहोत्सव सञ्चालन हुने अनुमान गरिएको छ। अहिलेसम्म जिल्लाका विभिन्न क्षेत्रमा भएका मेलामहोत्सवले स्थानीय स्तरमा कुनै फाइदा भएको पाइएको छैन। मेलामहोत्सवले स्थानीय स्तरमा फाइदाभन्दा पनि यहाँको अर्थ बाहिरिएको देखिन्छ।

यसरी एकै महिनाको अन्तरालमा दुई महोत्सवको आयोजना गर्न स्विकृति दिने स्थानीय तहसँग समेत स्थानीय व्यवसायी असन्तुष्ट देखिएका छन्। गल्याङ नगरपालिकाले समन्वय गरेर एउटा मात्रै महोत्सव आयोजना गर्न स्विकृति दिनुपर्ने थियो तर यसमा नगरपालिकाले सहजीकरण गर्न नसकेको गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्यालले बताउनुभयो।

नयाँ कार्यसमिति आएपछि उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्ने भनेर स्थानीय सरकारबाट स्विकृति लिनलाई निवेदन दियौं अर्यालले भन्नुभयो– ‘स्थानीय सरकारले भर्खर गठन भएको संस्थालाई अगाडि र हामीलाई पछाडि गर्ने अनुमति दियो।’

स्थानीय तह नै विभिन्न संघसंस्थालाई महोत्सव गर्न र गराउन उद्यत रहेको अर्यालले बताउनुभयो। गल्याङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवबाट बचेको रकमले बजारमा सीसी क्यामेरा जडान र प्रतिक्षालय बनाएको दाबी अर्यालको छ।

उद्योग वाणिज्य संघले चैत्रको २१ गतेदेखि २५ गतेसम्म तेस्रो गल्याङ महोत्सव गर्दै छ भने गल्याङ चेम्बरको आयोजनामा माघ १६ देखि २६ गतेसम्म प्रथम गल्याङ कृषि नगरमहोत्सव सञ्चालन भइरहेको छ। चेम्बरले भने आफूहरूको कृषि महोत्सव भएको दाबी गरेको छ।

स्थानीय उत्पादनभन्दा पनि बाहिरी सामाग्रीले प्रथामिकता पाउने भएपछि ठूलो धनराशी बाहिरिने सम्भावना धेरै छ। दुईवटा महोत्सवले गल्याङ बजारका व्यवसायी ठूलो मर्कामा पर्ने अवस्था सिर्जना भएको छ। उद्योग वाणिज्य संघले भने व्यवसायीको परामर्सपछि मात्रै महोत्सव सञ्चालन गर्ने जनाएको छ।

चेम्बर भने व्यवसायीसँग कुनै परामर्स नगरी महोत्सव गर्दै छ। आफू खुसी र आफ्ना निकटका व्यक्ति हेरेर स्विकृति दिने स्थानीय तहका जनप्रतिनिधिको यस्तो प्रचलनले आर्थिक संकट ल्याउन सक्ने अनुमान गरिएको छ। अहिलेसम्म स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले छैटौं महोत्सव सम्पन्न गरेको छ भने सुन्तलाबारी होमस्टेले पनि महोत्सव सम्पन्न गरिसकेको छ।

वालिङमा वन्डफुल वालिङले पर्यटन मेला सम्पन्न गरेको छ। फागुन १ गतेदेखि भीरकोट उद्योग वाणिज्य संघले महोत्सवको तयारी तीब्र पारेको छ। मेलामहोत्सवले स्थानीय स्तरमा हुने फाइदा र बेफाइदा हेरेर मात्रै आयोजना गर्न स्थानीय तहले सुझाउनुपर्ने आवश्यकता देखिन्छ।

यो वर्ष मात्रै करोडौं रकम बाहिरिने अवस्था जिल्लामा देखिएको छ। जिल्लाको रकम जिल्लाभित्रै खर्च गर्ने परिपाटी बसाल्न सकियो भने मात्रै स्थानीयको आर्थिक स्तर उकास्न सकिने सरोकारवालाको भनाइ छ।