कोरोनासँग आत्तिन नपर्ने

0
Shares

विदुर गिरी, काठमाडौं।

चीनको उहान र अन्य क्षेत्रमा आतंक मचाइरहेको कोरोना भाइरसबाट डराउनुनपर्ने तर सचेत भई सावधानी अपनाउनुपर्ने विज्ञको राय छ। रुघाखोकी लाग्दैमा, स्वस्थ पशुपक्षीको मासु र चिनियाँ परिकार खाँदैमा र चीनबाट पठाएका सामान प्रयोग गर्दैमा कोरोना संक्रमण नहुने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताउनुभयो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले कोरोना भाइरस शरीरबाहिर लामो समय नबाँच्ने र कोरोना संक्रमित चिनियाँ नेपालमा नभेटिएकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको आश्वस्त गराउनुभयो।

इन्फ्लुएन्जा तथा निमोनियालगायतका सुई लगाएका व्यक्तिलाई पनि अरूलाई जस्तै कोरोना सर्न सक्ने र मास्क लगाउँदैमा कोरोना संक्रमणबाट नबचिने उहाँको भनाइ छ।

२०७२ सालको प्रलयकारी भूकम्पको समयमा भूकम्प प्रभावित क्षेत्रमा पुगेर निःशुल्क उपचार र औषधि वितरण गरेका डा. पाण्डेका अनुसार कोरोना संक्रमित व्यक्तिले अरू सबैलाई रोग सार्न सक्दैन, मात्र इम्युनिटी पावर कमजोर भएकालाई भने यसले संक्रमित तुल्याउन सक्छ।

कोरोना संक्रमण भएका सबैको मृत्यु हुँदैन। सय जनालाई कोरोना संक्रमण भएमा दुई–तीन जनाको मात्र मृत्यु हुन सक्छ।‘कोरोना भाइरस गर्मी शुरू भएपछि नियन्त्रण हुने चीनको विश्वास छ। कोरोनाले भन्दा कोरोनाको कारण भइरहेको चिन्ता, तनाब, असुरक्षा महसुसजस्ता मानसिक असरले दीर्घरोगी वृद्धि हुने तथा मृतकको संख्या बढ्ने देखिएको छ’, डा. पाण्डेको भनाइ छ– ‘मान्छेतिर फर्केर खोक्ने, हाच्छ्यँु गर्ने, औंलालाई मुख, नाक, आँखा र कानतिर लैजाने, हात नधोई खानेकुरा समाउनेजस्ता बानीले कोरोनाको खतरा बढाउँछ।

कोरोना संक्रमणबाट बच्न खल्ती वा ब्यागमा ह्यान्ड स्यानिटाइजर वा अल्कोहल कन्टेन्ट स्यानिटाइजर राखी त्यसले पटक–पटक हात सफा गर्ने र साबुन पानीले हात धोएर मात्र खाना खाने गर्नुपर्छ।’