ललिता काण्डले ३ अर्ब जोखिममा

0
Shares

परिवर्तन देवकोटा, काठमाडौं।

ललिता निवासको जग्गा धितोमा राखेर ऋण लिएका जग्गाधनीसमेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएसँगै बैंकहरूको अर्बौं लगानी जोखिममा परेको छ।आयोगले बुधबार ललिता निवासको जग्गा अनधिकृत खरिदबिक्री गर्ने १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेसँगै बैंकहरूको लगानी जोखिममा परेको हो।

अनधिकृत खरिदबिक्री गरिएको ललिता निवासको १ सय १४ रोपनी जग्गामध्ये केही जग्गाधनीहरूले सोही जग्गा धितोमा राखेर अर्बौं ऋण लिएका थिए। जग्गा जफत हुने अवस्था र दोषीलाई कारबाहीको समेत माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा चलाएपछि यस्तो जोखिम देखिएको हो।

अख्तियार स्रोतका अनुसार बैंकहरूले ललितानिवासमा करिब ३ अर्ब रुपियाँ लगानी गरेको खुल्न आएको छ। अख्तियारले विवादित क्षेत्रको जग्गा धितोमा राखेर व्यक्ति विशेषको नामबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपियाँभन्दा बढीको धितो पारित भई विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह भएको देखिएको जनाएको छ।

अख्तियारले मुद्दा चलाएपछि बैंकिङ क्षेत्रमा त्रास उत्पन्न भएको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बैंकहरूको लगानी विवरण राष्ट्र बैंकले मागिसकेको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

लगानी जोखिममा परेसँगै राष्ट्र बैंकले यसबारे बैंकहरूसँग विवरण माग गरिसकेको छ। दुई दिनभित्र लगानी विवरण राष्ट्र बैंकमा उपलब्ध गराउन सबै बैंकहरूलाई निर्देशन दिइएको प्रवक्ता भट्टले जानकारी दिनुभयो।

पत्राचारपछि बैंकहरूलाई के गरिन्छ भन्ने निक्र्योल भने अझै भइसकेको छैन। उहाँले बैंकहरूले विवरण पठाएपछि मात्र के गर्ने भन्ने निर्णय हुने बताउनुभयो।

स्मरणीय छ, ललिता निवासमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा कायम गरेको आरोप लगाई आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू, नेपाल सरकारका सचिवसहित १ सय ७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो।