संसद् बैठक अवरुद्ध

0
Shares

काठमाडौं, (नेस)।

ललिता निवास प्रकरणलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीबारको संसद् बैठक अवरोध गरेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना सभापति गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकोप्रति आक्रोश जनाउँदै कांग्रेसले यस्तो अवरोध गरेको

सभामुख अग्नि सापकोटाले बैठक शुरू गरेलगत्तै कांग्रेसका सांसदहरूले टेबुल बजाउँदै असन्तुष्टि जनाएका थिए। त्यसपछि सभामुख सापकोटाले कांग्रेस सचेतक तथा सांसद पुष्पा भुसाललाई बोल्न समय दिनुभएको थियो।

सम्बोधनका क्रममा सचेतक भुसालले बालुवाटार जग्गा प्रकरणमा अत्यन्तै पूर्वाग्रह राखेर राजनीतिक प्रतिशोधको आधारमा विभेदकारी व्यवहार देखाइएको बताउनुभयो।उहाँले भन्नुभयो– ‘प्रतिशोधको आधारमा मुद्दा दायर भएको छ, यसमा पूर्णरूपबाट सरकारले जिम्मा लिनुपर्छ।

कसैलाई काखा कसैलाई पाखा, कुनै सचिवलाई मुद्दा लाग्ने कुनैलाई नलाग्ने, कुनै मुख्यसचिवलाई लाग्ने कुनैलाई नलाग्ने, कुनै मन्त्रीलाई गर्ने कुनैलाई नगर्ने?’
नेकपाका प्रमुख सचेतक देव गुरुङले भने सदन अवरुद्ध गर्दैमा अख्तियारको निर्णय पुनरवलोकन नहुने बताउनुभयो।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सदनले संवैधानिक आयोगले गरेको निर्णयको पुनरवलोकन गर्न सक्दैन, न्यायिक निरुपणका लागि उपचार खोज्ने ठाउँ त न्यायालय हो।’

यस्तै, यसै विषयलाई लिएर राष्ट्रिय सभाका सांसदहरूले वर्तमान सरकारले भ्रष्टाचार अन्त्यको अभियानलाई व्यवहारमै कार्यान्वयन गर्नु मुलुकका लागि सकारात्मक संकेत भएको तर्क दिएका छन्।