मधेश आएपछि माइती घर आए जस्तो लाग्छः प्रचण्ड


सुभेन्द्र दास, लहान ।

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि पुष्प कमल दाहाल प्रचण्डले दोस्रो झण्डा महोत्सवको उद्घाटन गर्नुभएको छ । प्रचण्डले “कला संस्कृति हाम्रो स्वभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान’’ भन्ने मूल नाराका साथ सखुावानन्कारकट्टीलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा आत्मनिर्भर बनाउनका लागि सखुवानन्कारकट्टी गाँउपालिकाले आयोजना गरेको दोस्रो झण्डा महोत्सव २०७६ को उद्घाटन गर्नु भएको हो ।

पूर्व प्रधानमन्त्रि प्रचण्डले उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदैे भन्नु भयो– “मधेससँगको मेरो प्रेम कहिले टुट्न दिन्न, मधेश आएपछि माइती घर आएको जस्तो लाग्छ ।’ मधेसमा सिंचाईको प्रमुख समस्या रहेको हुँदा कोशी–कमला डाइभर्सन निर्माणको काम चाँडै अगाडी बढ्ने, हुलाकी सडक समेत तिब्र गतिमा निर्माण भइरहेको उहाँले बताउनु भयो । उहाँले आफ्ना लागि सिरहा चिरपरिचित जिल्ला भएको र दास्रोे संविधानसभा निर्वाचनमा आफू सिराहा जिल्लाबाट विजयी भएको उपस्थित हजारौँ जनसमुदायलाई धन्यावाद ज्ञापन गर्दै स्मरण गराउनु भयो ।

अध्यक्ष प्रचण्डले संविधान संशोधन गर्नमा पार्टी सकारात्मक रहेको दावी गर्दै आवश्यकता अनुरुप संविधान संशोधन गर्दै लैजाने संविधानले नै व्यवस्था गरेको हुँदा कसैको भ्रममा नपर्न आग्रह गर्नुभयो । सखुवानन्कारकट्टी गाउँपालिकाको सन्दर्भमा उहाले यस गाउँपालिकामा देखिएको शिक्षा,स्वास्थ्य र कृषिको समस्यालाई समाधान गर्न अहिले देखिनै लागि परेको प्रतिवद्धता जनाउनुभयो ।

समारोहमा नेकपा नेता मातृका प्रसाद यादब, समाजवादी पार्टीकी नेतृ सरिता गिरी, पूर्व मन्त्रि रामचन्द्र यादव, पुर्व कानुन मन्त्रि अजय संकर नायक, प्रदेश सभा सदस्य अशोक कुमार यादव लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो, भने वडाध्यक्ष महेन्द्र प्रसाद यादबको स्वागत मन्तव्यबाट कार्यक्रमको सुरुवात भएको थियो । उद्घाटन समारोहमा नेकपा, नेपाली काँग्रेस, समाजवादी, राजपा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि नेताहरु, नेपाल सरकारका प्रसाशनिक कर्मचारी, सुरक्षा निकायका पदाधिकारी, संचारकर्मी, नागरिक समाज, बुद्धिजीलगायत हजारौँ सर्वसाधारणहरुको उपस्तिथी रहेको थियो ।

कृषि औजार तथा उपकरणहरु, विभिन्न उपभोग्य सामानहरु, लत्ताकपडा, घरायसी तथा दैनिक प्रयोजनका विविध सामग्रीहरुको व्यपार, व्यवसाय तथा प्रदर्शनी, परम्परागत भेषभूषा तथा संस्कृति जगेर्ना, कृषिलाई आधुनिकीकरण गर्न प्रोत्साहन, हस्तकला तथा घरेलु उत्पादनहरुको प्रदर्शनी र नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० सफल बनाउन आन्तरिक तथा बाह्रय पर्यटन भित्राउनका लागि माघ २३ गतेदेखि फाल्गुन ३ गतेसम्म दोस्रो झण्डा महोत्सव २०७६ को आयोजना गरिएको मूल आयोजक समितिका संयोजक तथा सखुवानन्कारकट्टी गाँउपालिका अध्यक्ष केदारनाथ यादवले बताए ।

महोत्सव मूल आयोजक समितिका संयोजक तथा सखुवानन्कारकट्टी गाँउपालिका अध्यक्ष केदारनाथ यादवको अध्यक्षता तथा पूर्व प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।