आर्थिक वृद्धि सुधार गर्न राष्ट्र बैैंकले नीति संशोधन गर्नुपर्ने



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल राष्ट्र बैंकको नीति संशोधन गर्न सरोकारवालाहरूले सुझाव दिएका छन्। राष्ट्र बैंकको आयोजनामा बुधबार राजधानीमा आयोजित अन्तत्र्रिmया कार्यक्रममा बैंकर्स, उद्यमी तथा सरोकारवालाहरूले अहिलेको नीतिले आर्थिक वृद्धिदर उकास्न नसकिने गुनासो गर्दै यसलाई संशोधन गर्नुपर्ने धारणा राख्नुभयो।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पछिल्लो समयमा प्रविधिले तीव्र विकासले गरिरहेको भन्दै तत्सम्बन्धी आवश्यक नीति निर्देशनसम्बन्धी सुझाव आवश्यक रहेको बताउनुभयो। उहाँले दिगो विकास, वित्तीय स्थायित्व, अर्थतन्त्र र पुँजी बजार विकासका लागि राष्ट्र बैंकले समयानुकुल नीति निर्देशन लागू गर्ने र सोहीअनुसार परिमार्जन गर्दै जाने उल्लेख गर्नुभयो।

यसैगरी राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी विनिमय विभागका प्रमुख बमबहादुर मिश्रले सामाजिक सञ्जालमार्फत विदेशिने वा प्राप्त हुने विदेशी मुद्रालाई बैंकिङ प्रणालीमा ल्याउन राष्ट्र बैंकले नीति जारी गरेको स्मरण गराउनुभयो। कार्यक्रममा नेपाल बैकर्स संघ अध्यक्ष भुवन दाहालले अर्थतन्त्रलाई बलियो बनाउनका लागि वित्तीय स्थायित्व पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो।

उहाँले सरकारले लिएको आर्थिक नीति र पुँजी बजारलाई सहयोग गर्ने र दीर्घकालीन उच्च आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
‘संघले कुनै नाजायज विषय उठाउँदैन। गल्ती गरेमा कारबाही होस। तर, अन्तर्राष्ट्रिय परिवेशमा भएको बैंकिङ टुल्स नेपालले छाड्न हुँदैन,’–उहाँको भनाइ छ।

उहाँले प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानी गर्दा ४/५ वर्षसम्म घाटामा गए पनि प्रोभिजनिङ गर्नुपर्ने हो वा ५ प्रतिशतको प्रोभिजनलाई घटाउनुपर्ने हो त्यो प्रष्ट पार्न राष्ट्र बैंकलाई सुझाव दिनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष किशोर प्रधानले उद्योग नभए बैंक नै नचल्ने भएकाले राष्ट्र बैंकले प्रभावकारी रुपमा गर्न आवश्यक रहेको बताउनुभयो।

बैंंक तथा वित्तीय संस्थालाई नियमनमा कडाइ गर्दा सम्पूर्ण अर्थतन्त्रमा नै असर पुगेको उहाँको बुझाइ छ। उहाँले ‘पेपरलेस’ प्रणालीमा जाने नीति आए पनि व्यवहारिकतामा भने अझै कार्यान्वयन नभएको गुनासो गर्नुभयो।

कार्यक्रममा बैंकिङविज्ञ अनलराज भट्टराईले सिमेन्ट र रडमा ग्रोथ हुन लागेका बेलामा सरकारी नीतिले समस्या थपेको गुनासो गर्नुभयो। ‘हामी रिटेलमा फाइनान्स गर्न डराउँछौ, रिटेल फाइनान्स अर्थतन्त्रको ब्याकबोन हो’–उहाँले भन्नुभयो–‘स्प्रेडरेटमा १ प्रतिशत प्रोभिजनले गर्दा काम गर्न सकिन्छ कि सकिँदैन यसमा विचार गर्न जरुरी छ।’

प्रतिक्रिया दिनुहोस्