भाइरसबारे विमानमा ठट्टा गर्ने पक्राउ

0
Shares

टोरोन्टो, (एजेन्सी)।

जमाइकाको मोन्टेगो खाडीतर्फ उडिरहेको विमानमा अचानक जुरुक्क उठेर एक पुरुषले हालै चीन भ्रमण गर्ने क्रममा आफूलाई कोरोनो भाइरस संक्रमण भएको घोषणा गरेपछि एक हजार माइल लामो दूरी तय गरेर फेरी सो विमानलाई क्यानाडा फर्काइएको छ।

सोमबार आधा यात्रा तय भइसकेको अवस्थामा २८ वर्षीय जेम्स पोतोक नामक व्यक्तिले आफू खतरनाक कोरोना भाइरसबाट संक्रमित भएको दाबी गरेको प्रहरीले जनाएको छ। सो विमान टोरोन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनासाथ विशेष स्वास्थ्यकर्मीको टोलीले तत्काल ती युवकको स्वास्थ्य परीक्षण गरेको थियो।

तर वेस्टजेटको उडामा रहेका पोतोकमा भाइरसको कुनै लक्षण देखिएनन्। गम्भीर विषयमा अनावश्यक ख्यालठट्टा गरेको अभियोग लगाइएका पोतोकलाई आगामी मार्चमा ओन्तारियो अदालतमा पेश गरिने भएको छ।

फ्लाइट रडार २४ को डाटाले देखाएको सो विमानको उडान पथअनुसार विमान उडेको करिब दुई घण्टापछि विमान फ्लोरिडाको ज्याक्सनभिल्लेबाट फर्केको देखिएको बताइएको छ। वेस्टजेटले यस घटनाको कारण अन्य यत्रुहरुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ। मंगलबारसम्ममा टोरोन्टोमा तीन र भ्यानकोभरमा दुई जना गरी क्यानाडामा कूल पाँचजनामा कोरोना भाइरस भेटिएको छ।