वासु शशी सम्मान तीन स्रष्टालाई

0
Shares

काठमाडौ, (नेस)। 

वासु शशी स्मृति परिषद्ले तीन स्रष्टालाई सम्मान तथा पुरस्कारको घोषणा गरेको छ। परिषद्को हालै बसेको बैठकले वरिष्ठ लेखक तथा समाजसेवी कर्ण शाक्यलाई ‘वासु शशी साहित्य सम्मान–२०७६’, कवि तथा आख्यानकार इन्दिरा प्रसार्इँलाई “वासु शशी साहित्य पुरस्कार–२०७६”, साहित्यकार तथा पत्रकार श्रीओम रोदन श्रेष्ठलाई ‘कुमार–सरस्वती साहित्य पुरस्कार–२०७६’ द्वारा सम्मान गर्ने भएको छ।

साहित्यकार शाक्य विगत चार दशकदेखि नेपाली भाषा साहित्य तथा पर्यटनक्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आउनुभएको छ। साहित्यकार प्रसाई विगत साढे तीन दशकदेखि नेपाली भाषा साहित्यक्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आउनुभएको छ। साहित्यकार रोदन विगत तीन दशकदेखि नेपाली भाषा साहित्य तथा पत्रकारिताक्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आउनु भएको छ।

परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्य समितिकोे बैठकले साहित्यकार त्रय शाक्य, प्रसार्इँ र रोदनलाई सर्वसम्मतिले सम्मान गर्ने निर्णय गरेको छ। उक्त सम्मान तथा पुरस्कार वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८४ औं जन्मजयन्तीको अवसरमा आगामी चैत्र १३ गते प्रदान गरिने र पुरस्कारको राशी २५ हजार रहेको परिषद्का सचिव प्रद्युम्न जोशीले बताउनुभयो।

वासु शशी स्मृति पुरस्कारबाट वरिष्ठ कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु काँचुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा.विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, शैलेन्दुप्रकाश नेपाल, पुरस्कृत र वासु शशी साहित्य सम्मानबाट तीर्थराज वन्त, डा.मोहनहिमाशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शिव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल, कृष्ण जोशी, रमा शर्मा, श्रीधर खनाल, ज्ञान उदास, भागीरथी श्रेष्ठ, कल्पना प्रधान, र श्रेष्ठप्रिया पत्थर सम्मानित भइसक्नु भएको छ।