महानगर प्रमुखलाई प्रतिवेदन बुझाइयो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यको संयोजकत्वमा गठित स्क्लप्चर तथा कलाकृति प्रतिस्थापन निर्देशक समितिले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएको छ।

काठमाडौंका सार्वजनिक स्थानमा मूर्ति, चित्र तथा अन्य आकृति चिनारीको निर्माण तथा प्रतिस्थापन गर्न अध्ययन गर्न गठन गरेको समितिले तत्काल भित्ते चित्रलेखनको कामबाट कला प्रदर्शन गर्न सकिने प्रतिवेदन दिएको हो।

प्रतिवेदन बुझाउँदै कुलपति कर्माचार्यले भन्नुभयो– गौशाला, बबरमहल, सुन्धारा, भद्रकालीलगायत स्थानमा तिनै ठाउँका मूर्त अमूर्त कला देखिने चित्रलेखन गर्न सकिन्छ। मूर्ति र आकृति निर्माणका लागि नियमित काम गर्ने समूह बनाएर, स्थानको उपलब्धता र आवश्यकताका आधारमा काम गर्न सकिन्छ, आफूले गरेको सिफारिसका बारेमा कुलपति कर्माचार्यले भन्नुभयो।

प्रतिवेदन बुझ्दै मेयर शाक्यले ‘स्थानीयवासीको भावना र काठमाडांैको पहिचान हुने खालका आकृति हाम्रै पालामा प्रतिस्थापन गर्ने लक्ष्यअनुसार काम गर्नुपर्ने बताउनुभयो।उहाले महानगरले यसका लागि १० करोड रूपियाँ बजेट छुट्ट््याएको छ।’ सम्पदा संरक्षण र पर्यटन वर्षमा महानगरले थप काम गर्नेछ भन्नुभयो।

‘नेपाल पर्यटन वर्षमा नेपाल आउने पर्यटकले काठमाडौंको चिनारी बुझेर जान पाऊन् भन्ने मेरो इच्छा छ।’ पुर्खाले गरेका कामको महिमा पुस्तान्तरण गर्दै आफ्ना पालामा पनि वर्षौसम्म सम्झना गर्न सकिने काम गर्ने उहाँको भनाइ थियो।

सार्वजनिक ठाउँमा कला, मूर्ति, प्रतिमा वा आकृति राख्दा काठमाडौं उपत्यकाको सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा सम्पदाको गरिमा बिम्बित कसरी गर्न सकिन्छ? महानगरले निर्देशक समितिबाट सुझावको अपेक्षा गरेको थियो।

अब यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा सोच निर्माण गर्ने विज्ञहरूलाई सँगै लिएर काम गर्दा फलदायी हुन्छ, त्यस क्रममा समितिका सदस्य सचिव एवं सम्पदा तथा पर्यटन विभागका प्रमुख रामबहादुर थापाले धारणा राख्नुभयो।

पर्यटकको स्मृतिमा काठमाडौंको चिनारी रहिरहोस् भन्नका लागि महानगरले स्क्लप्चर तथा कलाकृति प्रतिस्थापन निर्देशक समिति गठन गरेको थियो।
समितिको सदस्य सचिवमा महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख रामबहादुर थापा र सदस्यमा कलाकारहरू सुनिल रञ्जितकार, एक्काराम सिंह, धर्मराज शाक्य, सुषमा राजभण्डारी र महानगरको सहरी योजना आयोगको सचिवालयका तर्फबाट मनराजा रञ्जित हुनुहुन्थ्यो।

२०७६ साउन १० गते बसेको नगर कार्यपालिकाको बैठकले स्क्लप्चर तथा कलाकृति प्रतिस्थापन निर्देशक समिति गठन गर्ने निर्णय गरेको थियो। काठमाडौंको चिनारीसँग जोडिएको चित्रकला, मूर्तिकला, धातुकला, काष्ठकला र प्रस्तरकलाको मौलिक सृजना र आधुनिक विकास प्रणालीको अन्तर्सम्बन्ध बिम्बित हुने सृजना प्रतिस्थापन गर्नु महानगरको कार्यक्रम हो।