नेपाल समाचारपत्र, काठमाडौं।
काठमाडौंको बल्खुस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा बुधबार पत्रकारिता तथा आमसञ्चार विभागको भवन शिलान्यास गरिएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले करिब २२ करोडमा निर्माण हुने भवनको शिलान्यास गर्नुभएको हो।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै डा. खतिवडाले आमनागरिकले सूचनाको अधिकार बुझून् र सोहीअनुसार सूचनामा पहुँच बनाऊन् भन्ने प्रयोजनका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
उच्च शिक्षामा पनि निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने र यस क्षेत्रले छुटाएका विधामा मात्र सरकारले हात हाल्ने नीति सरकारले लिएको जानकारी दिँदै उहाँले भन्नुभयो–‘सरकारले घोषणा गरेका कार्यक्रमको बारेमा आम नागरिकलाई जानकारी दिलाउन र सूचनामा पहुँच बनाउन प्रेस जगत्ले ठूलो भूमिका खेल्न सक्छ, यसमा विभागको भूमिका रहनेमा म विश्वस्त छु।’
त्रिविका उपकुलपति प्रा.डा. धर्मभक्त बास्कोटा, शिक्षाध्यक्ष प्राडा शिवप्रसाद भुसाललगायतको सम्बोधन रहेको सो कार्यक्रमको अध्यक्षता केन्द्रीय विभागका विभागीय प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले गर्नुभएको थियो। खनालले स्रोत–साधनको अभावका बाबजुद आजसम्म विभागले जे–जति सफलता हासिल गर्यो, त्यसको श्रेय सबै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीमा जाने, तर प्रस्तावित भवन बनेपछि भने पत्रकारिता शिक्षाले छलाङ मार्ने धारणा प्रकट गर्नुभयो।
‘नेपालमा पत्रकारिता शिक्षालाई विभिन्न प्रतिकूल परिस्थितिका बीच यहाँसम्म हामीले ल्यायौं, अब अगाडि लाने काम नयाँ पुस्ताको हो’ खनालले भन्नुभयो।
अहिले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस परिसरमा छ। क्याम्पसकै भवनसमेत प्रयोग गरेर स्नातक–स्नातकोत्तर हँुदै पत्रकारिताको एमफिल सम्मको पठन–पाठन हुँदै आएको छ। आफ्नो निजी भवनको अभावमा कार्यक्रमले नै भौतिक स्रोत–साधन तथा आधारभूत पूर्वाधारको समस्या भोग्दै आएको छ।











प्रतिक्रिया