बौद्ध भावना केन्द्रलाई ३ करोड अनुदान

0
Shares

काठमाडौं, (नेस)।

काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महल भवन निर्माणका लागि ३ करोड १ लाख ६९ हजार २ सय रुपियाँ अनुदान रकम उपलब्ध गराएको छ।महानगरको वडा १० शंखमूलस्थित केन्द्रमा बुधबार आयोजित कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले चेक हस्तान्तरण गर्नुभयो। त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा कर्मचारीहरुको सहभागिता थियो।

चेक हस्तान्तरणपछि बोल्दै प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार बिकास, सहरी सेवा व्यवस्थापन र सम्पदा पुनर्निर्माणसँगै आफ्नो क्षेत्रभित्रका सम्भावनाहरुको प्रवर्धनमा काम गरिरहेको बताउनुभयो।

‘महानगरभित्र बिशिष्ट क्षेत्रमा योगदान पुर्याउने क्षमताका व्यक्ति हुनुहुन्छ। संघसंस्थाले काम गरिरहेका छन्’, उहाँले थप्दै भन्नुभयो– ‘यस्ता व्यक्ति र संघसंस्थाको क्षमता बढाउन महानगरले सहयोग गरिरहेको छ। यससँगै हामीले स्वास्थ्य, शिक्षा र सामाजिक जीवनको स्तर उकास्न बिशेषज्ञ सेवाको क्षमता भएकाहरुसँग सहकार्य गरिरहेका छौं।’

महानगरले उपलब्ध गराएको सहयोग रकमबाट केन्द्रको बिकासका लागि ठूलो सहयोग पुगेको बताउँदै केन्द्रका अध्यक्ष प्रतीकरत्न ताम्राकारले केन्द्रको घरजग्गा कर मिनाहा गरिदिन आग्रह गर्नुभयो। कार्यक्रममा केन्द्रका उपाध्यक्ष मोतीकाजी शाक्यले केन्द्रको परिचय र प्रगति प्रस्तुत गर्दैै शान्तिका दूत गौतम बुद्धको आदर्श बिश्वभर फैलाउन केन्द्रले रातदिन काम गरिहेको उल्लेख गर्नुभयो।

२०४२ सालमा स्थापना भएको भावना केन्द्र करिब ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ। केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउँदै आएको छ।