कोरोना प्रभावितलाई छिटो उद्धार गर्न माग

0
Shares

काठमाडौं, (नेस)।

चीनको बुहान प्रान्तबाट फैलिएको नोबेल कोरोना भाइरसबाट विश्वव्यापी प्रभाव परिरहेकाले प्रभावित क्षेत्रमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न राष्ट्रियसभाका सांसदहरूले सरकारसँग माग गरेका छन्।

बुधवार बसेको राष्ट्रियसभाको बैठकको शुन्य समयमा सांसदहरूले नेपाली स्वदेश फर्काउन ढिलाइ भएकोमा सरकारप्रति असन्तुष्टि जनाए।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद् कमलाकुमारी ओलीले कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा वुहानमा रहेको नेपाली विद्यार्थी ठूलो तनावमा रहेको बताउनुभयो।

नेकपाकै सांसद कोमल ओलीले विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको नेपालमा कस्तो अवस्था छ भन्ने प्रश्न गर्दै नेपालीलाई उद्धार गरेर फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो।

समाजवादी पार्टीका सांसद रामप्रीत पासवानले कोरोनाबाट सुरक्षित हुने उपायबारे सरकारले चालेको कदमबारे आमरुपमा जानकारी दिन आग्रह गर्नुभयो।
चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्त र विश्वका २३ देशमा फैलिएको छ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा अहिले १७ हजार ३५१ मा सो भाइरस देखिएको छ। त्यसमध्ये १७ हजार चीनकै नागरिकमा सो भाइरस देखिएको छ। सरकारले भने ती नेपालीलाई उद्धार गरेर स्वदेश फर्काउने तयारी भइरहेको जनाएको छ। स्वास्थ्य मन्त्रालय मातहत रहनेगरी सरकारले तत्काल तीन शैयासम्म र भविष्यका लागि यस्ता जोखिमबाट बच्नका लागि छुट्टै अस्पताल बनाउने गृहकार्य अगाडि बढाएको छ।

यस्तै फरक प्रश्नमा नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले राष्ट्रियसभाको हैसियतमाथि नै प्रश्न उठ्ने गरेकाले यसको संवैधानिक हैसियत र काम–कारबाहीबारे पुनःमूल्याकंन गरी थप प्रभावकारी बनाउन राष्ट्रियसभा नियमावलीमा सुधार हुनुपर्ने तर्क राख्नुभयो।

काँग्रेसका सांसद बद्री पाण्डेले सोमबार अछाममा भएको वडाध्यक्षको हत्याको उचित छानबिन गर्न सरकारसँग माग गर्नुभयो। स्मरणीय छ, अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामीको हत्या भएको अवस्थामा मङ्गलबार बिहान शव फेला परेको थियो।

नेकपाका सांसद रामनारायण बिडारीले सरकारको प्रमुख सूचनादाताका रुपमा रहेको राष्ट्रिय अनुसन्धान विभाग प्रभावकारी नभएकोमा गुनासो गर्दै नेपाल–भारतबीच भएको १९५० को सन्धि, सुगौली सन्धिको आधिकारिक दस्तावेज एवम् पुरातात्विक महत्वका पुराना मूर्ति कहाँ छन् ? भनी प्रश्न गर्नुभयो।