अर्जेललाई ‘अर्डर अफ जापान’ प्रदान

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

जापानका लागि नेपाली पूर्वराजदूत नारायणप्रसाद अर्जेललाई बुधबार साँझ एक कार्यक्रमबीच जापानी राजदूत मासामिची साइगोले ‘अर्डर अफ जापान’ सम्मान हस्तान्तरण गर्नुभयो।

जापानी सरकारबाट प्रदान गरिएको यो सम्मान हस्तान्तरणका लागि काठमाडौंको ताहाचलस्थित जापानी राजदूतको निवासमा सो कार्यक्रमको आयोजना गरिएको थियो।

राजदूतावासबाट प्राप्त जानकारीअनुसार विदेशी नागरिकलाई यो सम्मान दिने दुई आन्तरिक आधार छन्। कम्तीमा पाँच वर्षसम्म लगातार जापानसँग कुनै मुलुकको सम्बन्ध विस्तारमा योगदान दिएको र सम्बन्धमा विशेष भूमिका खेलेको व्यक्तिलाई यो सम्मान प्रदान गरिन्छ।

पूर्वराजदूत अर्जेलले करिब तीन दशकअघि ६ वर्षसम्म जापानमा नेपाली राजदूतका रुपमा सेवा गर्दा जापानको अन्तर्राष्ट्रिय सहयोग निकाय जाइकाबाट विकास सहयोग नेपाल ल्याउन सफल भएकाले यो सम्मान प्राप्त गर्नुभएको हो।

उहाँले खासगरी नेपालमा सार्वजनिक स्वास्थ्य क्षेत्रमा सहयोग ल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र कान्ति बाल अस्पताल विस्तार गर्न जाइकाको सहयोगले महत्वपूर्ण भूमिका खेलेको थियो।

यसैगरी अर्जेलले जापानका सुकुबा र ओसाकामा नेपाली शिविर खडा गरेर आफ्नो मुलुक चिनाउने काममा पनि सफलता हासिल गर्नुभएको थियो।
यसअघि १९९८ मा हरेन्द्र बरुवा र २००१ मा स्व. राम वर्माले ‘अर्डर अफ द राइजिङ सन’ सम्मान प्राप्त गरिसक्नुभएको छ।

उहाँहरूले क्रमशः १९०२ मा जापान पुगेका आठ नेपाली विद्यार्थीबारे किताव लेख्नुका साथै त्रिभुवन विश्वविद्यालयमा जापानी भाषाका शिक्षक भएर काम गर्नुभएको थियो।