नरम मुटुका दुर्गानाथलाई मुटुरोगले नै लग्यो

0
Shares

विदुर गिरी, काठमाडौं।

मुटुको बाइपास सर्जरी सामान्यतया १५–१६ वर्ष टिक्छ । तर वरिष्ठ पत्रकार दुर्गानाथ शर्माले यो सत्यलाई चुनौती दिँदै जीवनको अर्को २४ वर्ष बिताउनुभयो।२४ वर्षपछि भने त्यसैको इन्फेक्सनसँग अन्ततः उहाँले हार खानैपर्यो। इन्फेक्सन फैलिएकै कारण उहाँ अब यो धर्तीमा रहनुभएन।

उपचारका क्रममा उहाँको बुधबार बिहान ११ बजे काठमाडौंस्थित मनमोहन अस्पतालमा निधन भयो। २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको उहाँलाई इन्फेक्सनको समस्या भएपछि शुरूमा शहीद गंगालाल राष्ट्रिय ह्दय रोग केन्द्रमा भर्ना गरिएको थियो।

गंगालालमा ५ दिन उपचार गरी उहाँलाई मंगलबार राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उहाँले मनमोहन कार्डियो थेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्स सेन्टरमा अन्तिम श्वास फेर्नुभयो। उहाँको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो। उहाँप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न सञ्चारकर्मी तथा शुभेच्छुकहरू आर्यघाटमा पुगेका थिए।

उहाँको परिवारमा श्रीमती र २ छोरा छन्।२००४ साल जेठ १४ गते इलामको फिक्कलमा जन्मनुभएका ७२ वर्षीय शर्माले छापादेखि रेडियो र टेलिभिजन प्रसारण माध्यमसम्म ४ दशक लामो समय पत्रकारिता गरी सो पेसालाई उचाइ दिनुभएको थियो।

गोरखापत्रबाट पत्रकारिता ‘करिअर’ शुरू गर्नुभएका उहाँले पछि रेडियो नेपालमा समाचार वाचन गर्नुभएको थियो भने २०४१ सालमा नेपाल टेलिभिजन स्थापना भएसँगै ‘काँचको स्क्रिन’मा देखापर्नुभएको थियो।उहाँले लामो समयसम्म नेपाल टेलिभिजनका लागि समाचार वाचन गर्नुभएको थियो।

भारतको दूरदर्शनबाहेका विदेशी टेलिभिजन च्यानल नै उपलब्ध नभएको समयमा नेपालसँग दौत्य सम्बन्ध भएका मुलुकका दूतावाससँग अडियो–भिडियो मगाएर संसारभरका रोचक सामग्री समावेश गरी नेपाल टेलिभिजनमा ‘विश्व घटना’ कार्यक्रममार्फत् दर्शक बढाउनुभएको थियो।

२ कार्यकालसम्म नेपाल टेलिभिजनको महाप्रबन्धक हुनुभएका उहाँलाई कतिपयले महाप्रबन्धक भएपछि कार्यक्रम नचलाउन सुझाव दिएका थिए। तर नीर शाहसँगै राष्ट्रिय टेलिभिजन स्थापनका लागि भूमिका खेल्नुभएका उहाँले आफूले जानेको काम छोड्नुहुँदैन भनेर कार्यक्रमलाई निरन्तरता दिनुभएको थियो।

नेपाली टेलिभिजनको इतिहासमा पहिलो प्रत्यक्ष प्रसारण पनि उहाँकै थियो। उहाँले अस्ट्रेलियाबाट तत्कालीन राजा वीरेन्द्रको सवारीको प्रत्यक्ष रिपोर्टिङ प्रसारण गर्नुभएको थियो।

नेपाल टेलिभिजनबाट अवकाश लिएपछि उहाँले निजी टेलिभिजन च्यानलको नेतृत्वसमेत सम्हाल्नुभएको थियो। टेलिभिजन कार्यक्रम सञ्चालन गरेरै लोकप्रियता कमाउनुभएका शर्माले आफ्नो अनुभव संगालेर राहदानीबिनाको विदेश यात्रा र छाल निबन्ध कृति लेख्नुभएको थियो।