‘ओडीआई’ पहिलो खेलमा नेपाललाई जित हासिल भएन

0
Shares

फिरोज राजोपाध्याय, काठमाडौं। 

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) त्रिकोणात्मक शृंखलामा नेपालले पहिलो खेलमा जित हासिल गर्न सकेन।
नेपालले ओमानविरुद्धको खेलमा नेपाल १८ रनले हारे बेहोर्नुपरेको हो।

यो नेपालको घरेलु मैदानमा पहिलो ओडीआई क्रिकेट शृंखलासमेत हो। तीन राष्ट्रबीच हुने सो त्रिकोणात्मक शृंखलाअन्तर्गत नेपालले दोस्रो खेलमा शुक्रबार अमेरिकासँग खेल्नेछ। अमेरिका र ओमानको यो तेस्रो त्रिकोणात्मक शृंखला हो।

बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले १ सय ९८ रनको सामान्य लक्ष्य भेटाउन नसकेको हो। नेपाल ४६ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ७९ रनमा समेटिएको हो। टोलीका लागि शरद भेषवाकरले सर्वाधिक ५५ रन जोडेका थिए।

शरद घरेलु मैदानमा भएको ओडीआईमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटस्म्यान पनि बने। यस्तै डेब्यु गरेका नेपाली बलर सुसन भारी पहिलो अन्तर्राष्ट्रिय सहभागीमै ३ विकेट लिन सफल भए।सो प्रतियोगितालाई सन् २०२३ मा हुने विश्वकप क्रिकेटमा पुग्ने प्रक्रियाका रूपमा लिइएको छ।

नेपालसहित ७ राष्ट्रको सहभागिता रहेकोमा शीर्ष हुने तीन टोलीले आगामी विश्वकप छनोटमा खेल्न पाउनेछन्। यसका लागि सहभागी सात राष्ट्र नेपाल, ओमान, अमेरिका, यूएई, पपुआ न्युगिनी, नामिबिया र स्कटल्यान्ड प्रत्येकले ३६/३६ खेल खेल्नेछन्। यो सन् २०२२ जनवरीसम्म गरी तीन वर्षसम्म चल्नेछ।

विश्वकप लिगअन्तर्गत त्रिकोणात्मक शृंखलामा अरू राष्ट्रले दुई–दुई शृंखला खेलिसकेका छन्। नेपालको भने लिगअन्तर्गत पहिलो त्रिकोणात्मक शृंखला हो। सहभागी हरेक राष्ट्रले नौ चरणसम्म त्रिकोणात्मक शृंखला खेल्नेछन्। एउटा त्रिकोणात्मक शृंखलामा ४/४ खेल पाउने हिसाबले एक राष्ट्रले ३६ खेल खेल्नुपर्ने प्रावधान छ।

नेपालद्वारा आयोजित यो शृंखला यही माघ २९ गतेसम्म चल्नेछ। यसपछि नेपालले नामिबियामा अप्रिलमा हुने दोस्रो त्रिकोणात्मक शृंखलामा सहभागिता जनाउनेछ, जसमा तेस्रो राष्ट्र स्कटल्यान्ड हुनेछ।