अधिकृतलाई सवारी चलाउन सुझाव

0
Shares

काठमाडौं, (नेस)।

राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा अधिकृतस्तरमा भर्ना हुने कर्मचारीले अनिवार्यरूपमा सवारी चालक अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्न सुझाव दिएको छ।

केन्द्रका सचिव डा. ऋषिराम शर्माले भन्नुभयो– ‘अधिकांश सरकारी कार्यालयमा देखिएका अनियमिततामध्ये सवारी मर्मत, इन्धन र चालक खर्च रहेका छन्, त्यसलाई नियन्त्रण गर्न अधिकृत र सोभन्दा माथिका कर्मचारीले अनिवार्यरूपमा अनुमतिपत्र लिनु आवश्यक हुन्छ।’

केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दिएको सुझावमा सो कुरासमेत उल्लेख गरेको छ।‘आफैं चालक हुँदा सरकारको खर्च कम हुने र इन्धन र मर्मतमा देखिएको अनियमितता रोकिने भएकाले अधिकृतसम्मको कर्मचारीलाई अनिवार्य रुपमा सवारीसाधन अनुमतिपत्र आवश्यक देखिएको छ’–सचिव डा. शर्माले भन्नुभयो।

सरकारी सवारी साधन चढ्ने ओहोदामा पुगेका अधिकृतभन्दा माथि उपसचिव र सहसचिवले समेत आफैंले सवारी साधन चलाउँदा खर्चमा कटौती हुने र सरकारी सम्पत्तिको थप संरक्षण हुने केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले बताउनुभयो।

केन्द्रले प्रम ओलीसमक्ष उस्तै प्रकृतिका राजस्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुदान आयोगबीच समन्वय आवश्यक रहेको, सरकारी अनुदानको सही सदुपयोग भए÷नभएको समेत अनुसन्धान गर्ने व्यवस्था गर्न पाउनुपर्नेलगायतको सुझाव दिएको छ।