मेयर साप ! सेनेटरी प्याड कहिले आउँछ ?


मोतीराम तिमल्सिना, काभ्रे ।

देवीटार माध्यमिक विद्यालय धुलिखेल नगरपालिका वडा नम्वर १ को कक्षा ८ मा अध्ययनरत छात्रा जस्मीन तामाङले धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुसँग छात्राहरुले प्रयोग गर्ने सेनेटेरी प्याड विद्यालयमा आईपुग्ने समय सोध्नु भयो ? ‘मेयर साप ! हामीलाई सरकारले दिने भनेको सेनेटरी प्याड कहिले आईपुग्छ ?’–जस्मिनले सोध्नु भयो ।

धुलिखेल नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको मेयरसँग विद्यार्थी कार्यक्रममा प्रश्न गर्दै जस्मिनले महिनावारी हुँदा भएको समस्या र त्यसले पारेको असरसँगै सरकारले उपलब्ध गराउने भनेको सेनेटरी प्याड उपलब्ध नभएकाले नगर प्रमुख ब्याञ्जुसँग प्रश्न गरेको बताउनु भयो ।

नगर प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिका वडा नम्वर ११ मा सेनेटरी प्याड बनाउने उद्योग संचालनका लागि नगरपालिकाले समेत सहयोग गरेकाले नगरपालिकाको तर्फबाट अहिले धुलिखेलकै केहि विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराएकाले थप विद्यालयमा अध्ययन गर्ने छात्राहरुका लागि नगर तथा प्रदेश सरकारको तर्फबाट तत्काल उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

कक्षा ५ मा अध्ययन गर्ने छात्र विश्वजित तामाङले खाजाको ब्यवस्था नहुँदा भोकभोकै अध्ययन गर्नु परेको बताउनु भयो । कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थी सम्झना लामाले गरिवीका कारण विद्यालय आउन नसक्ने विद्यार्थीहरुका लागि छात्रबृत्ति आवश्यक रहेको बताउनु भयो ।

विद्यार्थीहरुले विद्यालयमा आवश्यक रहेको विज्ञान तथा कम्प्युटर प्रयोगशला तथा विषयगत शिक्षक, शैक्षिक तथा खेलकुद सामाग्री, शिक्षक दरवन्दी, फर्निचर, बालमैत्री नगरमा विद्यालयको सुधर, स्मार्ट सिटीमा विद्यालय, दुगर्म क्षेत्रलाई सहज बनाउने रणनीति, इन्टरनेटको ब्यवस्था नभएकाले तत्काल नगर सरकारले ब्यवस्था गरिदिन विद्यार्थीहरुले माग गरेका थिए ।

नगर प्रमुख अशोक ब्याञ्जुले विद्यार्थीहरुका समस्या समाधान गर्न विद्यालयमै पुगेर समस्या संकलन गर्ने र नीति निर्मााणकर्ता, कार्यान्वयन कर्ता र त्यसको उपभोग गर्ने पक्षहरु बीच बसेर शिक्षाको गुणस्तर सुधार गर्न नगरपालिकाले आवश्यक रणनीति सहित धुलिखेललाई शैक्षिक हबका रुपमा विकास गर्ने गरी अगाडी बढेको बताउनु भयो ।

बालमैत्री नगर निर्माणका लागि कार्य गरिरहेको र सबै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको भविश्य सुखद बनाउन बालमैत्री वातावरणबाट शिक्षा प्रदान गर्ने नगरको योजना कार्यान्वयन गरिने बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक सुन्दर लामाले विद्यालयले भोग्नु परेका समस्याका बारेमा अवगत गराउनु भएको थियो । नगरपालिकाका शिक्षा शाखा प्रमुख माधव शर्माले नगर भित्र रहेका १० वटा माध्यमिक विद्यालयमा चालु शैक्षिक सत्रमा विद्यार्थीहरुसँग पुगेर मेयरसँग विद्यार्थी कार्यक्रम संचालन गरी विद्यार्थीहरुको क्षमताको विकास गर्ने, विद्यार्थीहरुलाई प्रश्न सोध्ने र त्यसको समालोचना गर्ने बानीको विकास गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, शिक्षा शाखाका भोजकुमार ठकुरी र अशोक घिमीरे, वडा अध्यक्ष रमेशप्रसाद घोरसाईने, विद्यालय ब्यवस्थापन समितिकाका अध्यक्ष सोनम सिं लामा लगायतले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।

नगरपालिकाले सेतिदेवी मावीमा धुलिखेल २ मा पनि मेयरसँग विद्यार्थी कार्यक्रम आयोजना गरेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामगोपाल चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुले विद्यार्थीहरुले उठाएका प्रश्नको जवाफ दिनु भएको थियो ।

विद्यार्थीहरुले संघियता, भ्रमण वर्ष, भौतिक पूर्वाधार, शैक्षिक कृयाकलाप, विषयगत शिक्षक लगायतका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा वडा अध्यक्ष देवप्रसाद कोईराला, शिक्षा शाखा प्रमुख माधव शर्मा, प्रधानाध्यापक धनबहादुर विष्ट लगायतले शिक्षामा भएका समस्याका बारेमा अवगत गराउनु भएको थियो ।

विद्यार्थीहरुलाई ब्याग वितरण

देविस्थान मावी र गोल्मादेवी मावीमा अध्ययन गर्ने २ सय ७० विद्यार्थीहरुलाई नगरपालिका र वडा कार्यालयको बजेट मार्फत ब्याग उपलब्ध गराईएको छ । वडा अध्यक्ष रमेश घोरसाईनेले विद्यालयलाई सहयोग गर्ने सन्दर्भमा बालबालिकाहरुलाई ब्याग उपलब्ध गराईएको बताउनु भयो । वडा सचिव महेन्द्र राउतले बालबालिकाहरुको भविश्य उज्ज्वल बनाउन ब्याग वितरण कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो ।

तस्वीरः मोतीराम तिमल्सिना, काभ्रे ।