बालुवाटार जग्गा प्रकरणः कांग्रेस नेता गच्छदार सांसद पदबाट निलम्बित


न्युज अफ नेपाल, काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन्। प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको घटनामा दोषी रहेको भन्दै अख्तियारले गच्छदारविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा ललितानिवासको सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिका नाममा पुगेको थियो। त्यतिबेला गच्छदार भौतिक पूर्वाधार मन्त्री थिए। गच्छदारले नै बालुवाटारमा प्रधानमन्त्री निवासभित्रको जग्गा सट्टापट्टा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुर्‍याएका थिए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनको दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेको अवस्थामा किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था गरिएको छ।

पूर्व सचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले भूमाफिया र उनीहरूलाई सहयोग गर्नेहरूको नामै किटेर कारवाही गनुपर्ने सिफारिस सहितको प्रतिवेदन बुझाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिआईबी र भूमि व्यवस्था मन्त्रालयले यो विषयमा अनुसन्धान गरेको थियो ।

अख्त‍ियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको छ ।

उनीहरुसँगै पूर्व मुख्य सचिव एवं चीनका लीलामणि पौडेलसहित १७ जनाविरुद्ध मुद्दा नचल्ने भएको हो । मन्त्रिपरिषद्को नीतिगत निर्णय अख्तियारले हेर्न नमिल्ने भएकाले मुद्धा नचल्ने भएको हो ।