ललिता निवास जग्गा प्रकरणः १ सय ७५ जना अख्तियारको कारबाही सूचीमा


न्युज अफ नेपाल, काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्रीको सरकारी निवास भएको बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आफ्नै पूर्व प्रमुख आयुक्त दीप बस्न्यात लगायतलाई विपक्षी बनाएर बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

विशेष अदालत स्रोतका अनुसार अख्तियारले १०० जना व्यक्तिलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

विशेष अदालत स्रोतका अनुसार अख्तियारले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी तथा तत्कालीन कर्मचारीहरु दीप बस्न्यात, छबिराज पन्त, दिनेशहरि अधिकारी लगायतलाई प्रतिवादी बनाएको छ ।

सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरिएको निश्कर्षसहितको छानबिन प्रतिवेदन एक सरकारी समितिले दिएपछि यसबारेमा थप अनुसन्धान गर्न सरकारले संवैधानिक आयोग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिएको थियो।

सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा पञ्चायतकालमा जफत भएको भन्ने अर्थ लगाई सुवर्णशमशेरका सन्तानले २०४९ मा फिर्ता लगेका थिए। भूमाफियाको चलखेलमा २०६२, २०६७ र २०६९ सालमा गरी चार पटक ललिता निवासको जग्गा अतिक्रमण भई व्यक्तिका नाममा दर्ता भएको थियो।

प्रधानमन्त्री निवास विस्तारका नाममा २०६६ चैत २९ र २०६७ वैशाख ३१ गतेको मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा डिल्लीबजार मालपोत कार्यालयले सार्वजनिक, पर्ती र राजकुलोको जग्गासमेत व्यक्तिका नाममा दर्ता गर्ने निर्णय गरेको थियो।

वर्तमान केपी ओली नेतृत्वको सरकारले गठन गरेको त्रिताल आयोगले बालुवाटार जग्गामा भएको हिनामिना सहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। त्रिताल प्रतिवेदनअनुसार प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवासको जग्गासमेत व्यक्तिको नाम गरिएको छ। ललिता निवासमा प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायतको निवास तथा राष्ट्र बैंकले १२० रोपनी जग्गा चर्चेको छ भने समरजंग कम्पनीको नाममा २ सय १३ रोपनी जग्गा छ।