इस्लामिक देशको संगठनद्वारा ट्रम्पको शान्ति योजना अस्वीकार

0
Shares

जेद्दा (एजेन्सी)। 

इस्लामिक देशहरुको संगठन अर्गनाइजेसन अफ इस्लामिक कोपरेसनले मध्य पूर्वलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनालाई अस्वीकार गरेको छ।
ओआईसीले आफनो ५७ सदस्य देशलाई उक्त योजना लागु गर्न कुनै प्रकारको मद्दत नगर्न भनेको छ।

विश्वका करिब डेढ अर्ब मुसलमानको प्रतिनिधित्व गर्ने उक्त संगठनले सोमबार जेद्दामा भएको बैठकपछि भने– ओआईसी अमेरिकी–इजरायल योजना अस्वीकार गर्छ, किनभने यो प्यालिस्टिनी जनताको वैध अधिकार तथा अपेक्षा पुरा गर्दैन र शान्ति प्रक्रियाको सर्तको पनि यसले उल्लङ्घन गरेको छ।

अमेरिकी योजनाअनुसार सम्पूर्ण जेरुसलम सहरमाथि इजरायलको अधिकार हुनेछ र इजरायलले प्यालेस्टाइन भूभागमा बसाइएका यहुदी बस्तीहरुलाई आप्mनो नियन्त्रणमा लिन सक्नेछ।

ट्रम्पको यस योजनामा इजरायलसँग अविभाजित जेरुसलम हुनेछ र प्यालेस्टाइनले इजरायलको कब्जामा रहेको पूर्वी जेरुसलमनजिकै आप्mनो राजधानी घोषित गर्न सक्ने उल्लेख छ। ओआईसीले पूर्वी जेरुसलम प्यालेस्टाइन राष्ट्रको राजधानीका रूपमा आफ्नो समर्थन दिएको र त्यहाँ अरबी तथा इस्लामी चरित्रमा जोड दिएको छ।

ओआईसीले इजरायली कब्जा अन्त्य भएपछि शान्ति आउन सक्ने जनाएको छ। सोमबार भएको बैठकमा इरान सहभागी भएको छैन। यद्यपि इरानले पहिले नै अमेरिकी योजनाको आलोचना गरिसकेको छ। इजरायल र प्यालेस्टाइनबीच जारी विवाद नै मध्य पूर्व संघर्षको जड हो।

राष्ट्रपति ट्रम्पले भनेका थिए, उनको शान्ति योजनाले दशकौंदेखि चल्दै आइरहेको हिँस्रक संघर्ष अन्त्य हुन सक्छ। ओआईसीको भन्दा अघि अरब लिगले पनि अमेरिकी योजना अस्वीकार गरिसकेको छ।

ओआईसीको बैठकमा प्यालेस्टाइन विदेश मन्त्री रियाद अल मलिकीले भने– यस योजनाको शान्ति योजना भन्न सकिँदैन, किनभने प्यालेस्टाइन यसको हिस्सा होइन र यो शान्तिको सबै अवसर अन्त्य गर्छ।