शेयर बजारमा दोहोरो अंकको गिरावट

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

निरन्तर उकालो लाग्दै आएको शेयर बजारमा मंगलबार भने दोहोरो अंकको गिरावट आएको छ। यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२ दशमलव शून्य ९ अंकले घटेर १३३७ दशमलव शून्य ४ बिन्दुमा झरेको छ।

यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ९२ अंकले घटेर २८४ दशमलव ९९ बिन्दुमा झरेको छ।नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने डेढ अर्बमाथि नै रहेको छ। कुल १ सय ७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर एक अर्ब ५७ करोड एक लाख ६६ हजार १ सय ६३ रुपियाँमा खरिदबिक्री भएका छन्।

कारोबार भएका १२ उपसमूहमध्ये यसदिन चार उपसमूहको मात्रै शेयर वृद्धि भएको छ भने आठ समूहको शेयर ओरालो लागेको छ।विकास बैंक, वित्त, निर्जीवन बीमा र अन्य उपसमूहका सूचक बढेका छन्। बाँकी सबै उपसमूहको सूचक भने घटेका छन्।

कारोबारका आधारमा मंगलबार नेपाल इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ। यस कम्पनीको १० करोड ७० लाख ६३ हजार ५ सय ३० रुपियाँबराबरको शेयर कारोबार भएको छ।

त्यस्तै यसदिन सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ९९ प्रतिशत कमाएका छन्। यसैगरी मिथिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ५ दशमलव २३ प्रतिशत गुमाएका छन्।