बाफिया ऐन संशोधन गर्न संसद्मा पेस


नेपाल समाचारपत्र, काठमाडौं।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) सहित चार विधेयक संसदमा पेस भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभाको मंगलबारको बैठकमा यी विधेयकहरू छलफलको लागि संसदमा पेश गर्नुभएको हो।

बैंक तथा वित्तीय संस्थाकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ सहित उहाँले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधयेक, २०७६ र धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधयेक २०७६ संसदमा पेस गर्नुभएको हो। यी विधयेक गत भदौमा नै संसदमा दर्ता भएका थिए।

विधेयक संसदमा पेस भएसँगै अब यी विधेयकमाथिको प्रक्रिया अगाडि बढ्ने छ। शुरूमा विधेयकमाथि प्रारम्भिक छलफल हुनेछ र विधेयक अर्थ समितिमा दफावार छलफलको लागि जाने छ। सांसदहरूले यसमा संशोधनको लागि प्रस्ताव गर्न सक्ने छन्।

समितिले दफावार छलफल गरेर विधयेक पारित गरेपछि संसदको पूर्ण बैठकले विधेयक पारित गर्नुपर्ने छ। संसदको दुवै सदनले पारित गरेपछि र राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो कानुनको रूपमा लागू हुने छ।

यी चार विधेयकमध्ये बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमा सर्वाधिक चासो छ । यो विधेयकमा बैंक सञ्चालकको उमेर हद, शैक्षिक योग्यतालगायतका विषय समेटिएको छ भने प्रमुख कार्यकारी अधिकृतको कार्यकालसम्बन्धी पनि नयाँ व्यवस्था गरिएको छ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधन भएमा बैंकको सञ्चालकमा उमेर हद ६५ वर्ष र कार्यकाल दुईपटकमात्रै हुनेछ।