पुल बनाउनै मान्दैनन् ठेकेदार ९६ पुलले समस्या निम्त्यायो

0
Shares

काठमाडौं, (नेस)। 
मुलुकभर निर्माणाधीन अवस्थामा रहेका पुलमध्ये ९६ पुलमा ठेकेदारकै लापरबाहीले समस्या निम्तिएको सडक विभागले जनाएको छ। निर्माणको जिम्मा लिएका ठेकेदारकै लापरबाहीले मुलुकभर ती पुल समयमै नबन्दा समस्या आएको हो। २ हजार ९१ थान पुल चालू आवमा निर्माणाधीन र निर्माणको चरणमै छ।

यीमध्ये स्थानीय सडकअन्तर्गत ६८, रणनीतिक सडकअन्तर्गत १९, हुलाकी राजमार्गअन्तर्गत ५ र मध्यपहाडी लोकमार्गमा ४ गरी जम्मा ९६ पुलले समस्या निम्त्याएको विभागका अधिकारीहरू बताउँछन्।

निर्माण व्यवसायीले मुलुकको धेरै ठाउँमा बेवास्ता गरी काम ढिला गरेका कारण समस्यामा परिणत भएको विभागका महानिर्देशक केशव शर्माले बताउनुभयो। त्यस्तै मुलुकभर सडक पुलको संख्या अत्यधिक रहेकाले त्यसलाई नियमन गर्ने प्राविधिक समिति नहुँदा समस्याग्रस्त पुलको संख्या बढिरहेको उहाँको भनाइ छ।

निर्माण व्यवसायीकै लापरबाहीले मुलुकका ठूलासाना पुल अधुरै अवस्थामा रहेको छ। जसले गर्दा नागरिकले अनाहकमा कष्ट भोग्दै आइरहेका छन्। बझाङको कालीपछाई जडारी गाड पुल, महोत्तरीको पत्थर खोला पुल, हरिपुरमा रहेको कोसी कटान पुल, गौरको झाझनी पुल, पाल्पाको ज्याग्दी पुल, ओखलढुंगाको ठोट्ने खोला पुल, काठमाडौंकै बाग्मती खोला पुललगायतमा निर्माण हुन सकिरहेको छैन।
त्यस्तै जग्गाको मुआब्जा निर्धारण नभएको, पहुँचमार्ग नपुगेको, अदालतबाट अन्तरिम आदेश भएको, साइट विवाद भएकाले गर्दा मुलुकभरको ५१ पुलकोे निर्माण हुन सकिरहेको छैन। विभागका अनुसार कोटेश्वर आकासे पुल, अछामको लुङ्ग्रेली गाड पुल, रुम्जाटार र मामखा जोड्ने पुल, उदयपुरको त्रियुगा पुल सिपाया, झापाको रतुवा खोला पुल, रोल्पाको माडी खोला पुल, दोलखाको तामाकोसी पुललगायत पुल बन्न विभागले काबुबाहिरको भनेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले धेरै पुल एकसाथ निर्माण गर्दा विभिन्न समस्या आउनु सामान्य भएको बताउनुभयो।