भिडियो कन्फ्रेन्सद्वारा भवन उद्घाटन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय बझाङ परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास र मेस भवनको मंगलबार उद्घाटन गर्नुभयो।उक्त भवन प्रहरी महानिरीक्षक खनालले प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्सद्वारा उद्घाटन गर्नुभएको हो।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले उत्कृष्ट भवनसँगै थप परिष्कृत प्रहरी सेवा प्रवाह गर्नुपर्ने चर्चा गर्दै अपराध र अपराधीलाई कानुनी दायरामा ल्याउन निर्भीक, निडर, इमानदार एवम् कर्तव्यनिष्ठ भएर काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो।

नेपाल प्रहरीमा आबद्ध भएर देश र जनताको सेवा गर्न पाउनु जीवनको सबैभन्दा ठूलो एवम् महत्वपूर्ण क्षण भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सबै निकायहरूसँग समन्वयात्मक रूपमा अगाडि बढेर आफूलाई प्राप्त जिम्मेवारी सम्पादन गर्नुपर्ने उल्लेख गर्नुभयो।
अपराध नियन्त्रणका लागि नेपाल प्रहरीले अवलम्बन गरेको समुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत विभिन्न संघ–संस्था तथा नागरिकहरूसँग समन्वय र सहकार्य गरी थप प्रभावकारी रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न समेत उहाँले निर्देशन दिनुभयो।

समाजमा भएका विकृति–विसङ्गति निर्मूल गर्नका लागि प्रहरीले स्थानीय तह, विभिन्न संघसंस्था एवम् महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भिडियो कन्फ्रेन्सबाटै धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

नेपाल सरकारको नियमित बजेटबाट कुल ८ करोड ५९ लाख १८ हजार ६ सय ५३ रूपियाँ ८४ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

कन्फ्रेन्सबाट उद्घाटन कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधिहरू, पूर्वप्रहरी कर्मचारीहरू, महिला अधिकारकर्मी, स्थानीय भद्रभलादमी, समुदाय (प्रहरी साझेदारीअन्तर्गतका पदाधिकारीहरू, स्थानीय सञ्चारकर्मी र प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

उद्घाटनपश्चात् जिल्ला प्रहरी कार्यालय बझाङमा आयोजित कार्यक्रममा बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा हस्ताक्षर गरिएको प्रशंसापत्र स्थानीय निकायका पदाधिकारीहरूलाई प्रदान गर्नुभयो। साथै प्रमुख जिल्ला अधिकारी पाण्डेले उक्त भवन निर्माण कार्यमा उल्लेखनीय योगदान पुर्याउने निर्माण व्यवसायीहरूलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो।