६ विश्वविद्यालयमा तत्काल उपकुलपति नियुक्त गर्न आग्रह

0
Shares

काठमाडौैं, (नेस)
त्रिवि विश्वविद्यालयका पूर्व उपकुलपतिले उच्चशिक्षामा अनावश्यक नियन्त्रण बढाउनेतर्फ सरकारको ध्यान केन्द्रित हुनुको सट्टा देशका विश्वविद्यालयमा तत्काल नेतृत्व छनौट गरिनुपर्ने बताएका छन्।  लामो समयसम्म नेतृत्वविहीन राखेर विश्वविद्यालयहरूको समग्र उन्नतिमा सरकार बाधक बनेको उनीहरूको आरोप छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनौट समितिले सिफारिस गरेका  ६ विश्वविद्यालयको उपकुलपतिको नियुक्ति गर्न  प्रधानमन्त्री केपी ओलीलाई हम्मे भएको छ।

उच्च शिक्षामा अनावश्यक नियन्त्रण नगर्न र विश्वविद्यालयलाई नेतृत्वविहीन नराख्न पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन्। दलहरूबीच भागबन्डा नमिलेको कारण विगत ६ महिनादेखि सुदूर पश्चिम, मध्य पश्चिम, पोखरा, पूर्वाञ्चल, नेपाल संस्कृत र कृषि तथा वन विश्वविद्यालयमा उपकुलपति खाली छ।

सर्च कमिटीले सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा भारती चन्द, रमेश भट्टराई, र पूर्णबहादुर चन्दको नाम सिफारिस गरेको थियो। मध्य पश्चिमाञ्चल विश्वविद्यालयमा केशरसिंह राना, नन्दकुमार सिंह र जनार्दन लामिछानेको नाम सिफारिस गरेको थियो। पोखरामा यादवप्रसाद लामिछाने, केशरजंग बराल र देवराज अधिकारीको नाम सिफारिस गरिएको थियो।

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई उपकुलपति दिने कि नदिने भन्ने विषयमा  निर्णय गर्न नसक्दा ६ विश्वविद्यालय निमित्तको भरमा चलिरहेको छ।
 यति लामो समय हुँदासम्म पनि उपकुलपति नियुक्त हुन नसक्नु उच्च शिक्षाप्रति सरकार गम्भीर हुन नसकेको पूर्वउपकुलपतिहरूको आरोप छ।