नेपाल ल्याउने तयारी पूरा

0
Shares

काठमाडौं, (नेस)

चीनको बुहानमा रहेका आफ्ना नागरिकलाई नेपाल ल्याउने तयारी पूरा भएको सरकारले जनाएको छ।त्यसका लागि संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अनुसार आदेश पनि जारी भएको छ। चीनबाट ल्याइने नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न मन्त्रिपरिषद् बैठकले आवश्यक आदेश जारी गरेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले संसद्को बैठकमा जानकारी दिनुभयो।

‘संक्रमक रोग ऐन २०२० को दफा २ को ३ अनुसार सरकारले आदेश जारी गरेर यो ढंगले राख्न सक्ने भन्ने कानुनी प्रावधानअन्तर्गत हिजो मन्त्रिपरिषद् बैठकबाट आदेश जारी गरेका छौं।’ –उहाँले भन्नुभयो।

चीनमा महामारीका रूपमा फैलिएको नोबल कोरनाभाइरसको संक्रमणबाट उद्धार गरेर नेपालीहरू कहाँ राख्ने विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको थियो।

चीनस्थित नेपाली दूतावासबाट नेपाल फर्किन चाहनेहरूको तथ्यांक संकलन गरिरहेको अवस्थामा मन्त्रिपरिषद्को बैठकमा त्यसबारे लामो छलफल भएको हो। त्यसक्रममा अपनाउनुपर्ने आवश्यक सावधानी, चाल्नुपर्ने कदम र नेपालसँगको भएको स्रोत साधनबारे छलफल भएको बुझिएको छ।

‘अहिले जताततै कोरोनाभाइरसको चर्चा छ। सर्वसाधारण पनि डराएका छन्। नेपालमा संक्रमण फैलन नदिन सतर्कता र सजगता अपनाउन सरकारले के–के काम गर्न सक्छ? ती सबै उपायहरू अवलम्बन गर्नुपर्छ।’

सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकालतर्फ हेर्दै भन्नुभयो– ‘यहाँ गर्नुपर्ने तयारीको कुनै कमी नहोस्।’ ‘कोरोनाको चिन्ता र चासो धेरै भयो। यसबाट जोगिने र जोगाउने कुरामा बैठकमा छलफल भयो।’ स्वास्थ्यमन्त्री भानुभक्त ढकाल संसद्को बैठकमा बोल्ने क्रममा भन्नुभयो।

चीनबाट नेपाल ल्याउने नेपालीहरूको अवस्था र नेपाल ल्याइसकेपछि उनीहरूलाई राख्ने स्थान ‘क्वारेन्टाइन’ को खोजीबारे भइरहेको प्रगतिको भइरहेको पनि उहाँले बताउनुभयो।‘चीनबाट नेपाल आउन चाहेका नेपालीहरूलाई ल्याउन विमान तयार नै छ। राख्ने स्थान पनि लगभग पक्काजस्तै छ।

स्वास्थ्य संस्था र स्वास्थ्यर्मीको टोली तयारीमा राखिएको छ।’ –मन्त्री ढकालले चीनमा रहेका नेपालीहरू अहिलेसम्म सुरक्षित रहेको त्यहाँका अधिकारीहरूसँगको संवादका क्रममा आफूले पाएको बताउनुभयो। ‘चिनियाँ सरकारका प्रतिनिधिहरूसँग पनि परराष्ट्रमार्फत कुराकानी भइरहेको छ।

त्यहाँ रहेका नेपालीहरू सुरक्षित र निगरानीमै छन्। आत्तिनुपर्दैन भन्ने रिपोर्ट छ’, मन्त्री ढकालले ब्रिफिङ गर्दै भन्नुभयो– ‘चीनमा रहेका नेपालीहरू निगरानीमै रहेको र बरु ल्याउने क्रममा बाटोमा जोखिम बढ्ने खतरा भएकाले के गर्ने भन्ने चिन्ता छ।’ चीनमा कोरोनाको संक्रमण भएका शहरहरूमा कसैलाई पनि बाहिर निस्कन दिइएको छैन।

कोरोना संक्रमणबाट चीनमा ४ सय २५ जना र चीन बाहिर फिलिपिन्समा एक जनाको मृत्यु भइसकेको छ। चीनबाहेक नेपाल, भारत, श्रीलंका, थाइल्यान्ड, जापान, भियतनाम, कोरिया, अस्ट्रेलिया, सिंगापुर, मलेसिया, कम्बोडिया, फिलिपिन्स, अमेरिका, क्यानडा, फ्रान्स, फिनल्यान्ड, जर्मनी, इटाली, रुस, स्पेन, स्वीडेन, बेलायत र युनाइटेड अरब इमिरेट्समा यसको संक्रमण फेला परेको छ।