मेची काली खबरदारी अभियान बुटवलमा


यमलाल भुसाल, बुटवल ।

अलिख नेपाल युवक संघले भ्रष्टाचार बिरुद्वको मेची– महाकाली खबरदारी अभियान चलाएको छ । मुलुकमा बढेको भ्रष्टाचारको अन्त्य र नागरिकता विद्येयक खारेजीको लागि युवक संघले मेची– महाकाली अभियान चलाएको हो ।

महाकालीबाट शुरु भएको अभियानको टोली मंगलबार रुपन्देही आएको छ । राष्ट्रिय जनमोर्चा निकट युवक संघको टोलीले रुपन्देहीको हरैया, सालझण्डी, बुटवलको बेलवास, ट्राफिकचोक र राजमार्गमा सभा गरेको छ । सभामा बोल्ने अखिल नेपा युवक संघका नेताहरुले नयां संविधानमा गणतन्त्र, धर्म निरपेक्षता, समावेशी जस्ता केही उपलब्धीहरु प्राप्त गरिएपनि संस्थागत हुन नसकेकोप्रति चिन्ता गरेका छन् ।

बुटवलमा आयोजित सभामा बोल्दै अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष अनिलकिशोर घिमिरेले देशमा कम्युनिष्टको सरकार भएपनि भ्रष्टाचार संस्थागत रुपमा मौलाएको बताउनुभयो । सरकारले भ्रष्टाचारीहरुलाई संरक्षण गरेको आरोप लगाउंदै सरकारले ल्याएको नागरिकता विद्येयक खारेज नभए भोली नेपाली अल्पमतमा पर्ने बताउनुभयो ।

संघका महासचिव कृष्णराज पाण्डेले भ्रष्टाचार दिन प्रतिदिन बढ्दा र सीमा नेपाली भूमि अतिक्रमण हुंदा पनि ओली सरकार बोल्न नसकेको बताउनु भयो ।
कार्यक्रममा प्रदेश सांसद तारा जीसी, नेकपा मसालका रुपन्देही प्रवक्ता नारायण जीसी, रक्तिम कलाकार प्रतिभा पौडेल, राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलम, गणेश गौतम लगायतले बोल्दै भ्रष्टाचार, संसदमा पेश भएको नागरिकता विद्येयक, संघीयता देशको लागि घातक भएको बताउनु भयो । गत माघ १५ गते महाकालीबाट सञ्चालन गरिएको अभियान आगामी २९ गते मेची पुगेर समापन गरिने छ ।