प्रदेशको स्थायी राजधानी र नामाकरण छिटो टुगांउन माग



यमलाल भुसाल, बुटवल ।

प्रदेश पाँचको प्रदेश सभाको स्थापना दिवस बिबिध कार्यक्रम गरि मनाईएको छ । प्रदेश सभा स्थापना दिवसको अवसरमा मंगलबार बुटवलमा प्रदेश सभा सचिवालय परिषरमा बिशेष समारोह मनाईएको हो ।

मुल समारोहमा बोल्ने वक्ता सांसदहरुले प्रदेशको स्थायी राजधानी र नामाकरणको काम चाडो टुगाउन सरकारसंग माग गर्नु भएको थियो । उनीहरुले संविधान कार्यान्वयनमा ढिलाई हुँदा जनताले परिवर्तनको कुनै महसुस गर्न नसकेको बताएका थिए । त्यस्तै प्रदेश सभाले बिधेयक बनाउने काममा अरु प्रदेश भन्दा अंगाडी भएपनि बनेका बिधेयक समेत ऐन नियमको अभावमा कार्यान्वयन हुन नसक्दा जनताले सोध्ने प्रश्नको जवाफ दिन नसकिएको बताएका थिए ।

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा स्थापना भएको दुई वर्षको अवधिमा कानुन (बिधेयक) निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनु भयो । उहाँले प्रदेश सभा सदस्यहरुलाई बिशेष समय र शुन्य समयका बारेमा अझैपनि बुझाउन नसकिएको भन्दै सबै समयलाई बिशेष समयको रुपमा नबुझ्न प्रदेश सभा सदस्यहरुलाई आग्रह गर्नुभयो ।

प्रमुख बिपक्षि दल नेपाली काँग्रेसकी सचेतक निर्मला क्षेत्रीले बिकासका काममा विपक्षि दल नेपाली काँग्रेस सरकारसंगै रहेको बताउँदै बिकासलाई गति दिनकालागि प्रदेशको स्थायी राजधानी र नामाकरणको काम चाडो गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले सरकारले कानुन निर्माणलाई महत्वपूर्ण रुपमा लिएपनि ती कानुनको ऐन तथा कार्यबिधि नबन्दा कार्यान्वयन हुन नसकेकाले त्यसतर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो ।

त्यस्तै संघीय समाजवादी पार्टीका सांसद सन्तोष पाण्डेले पनि संविधान कार्यान्वयनमा जोड दिँदै बनेका कानुको ऐन तथा कार्यबिधि निर्माणलाई जोड दिनुभयो । उहाँले तत्काल प्रदेशको स्थायी राजधानी र नामाकरणकालागि सरकारसंग आग्रह गर्नुभयो । प्रदेश पाँचका सभामुख पूर्णबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभामुख कृष्णी थारुले प्रदेश सभा स्थापना भएको दुई वर्षको अवधिमा चौंथो अधिवेशन सम्पन्न हुँदासम्म ४८ कानुन निर्माण गरिएको जानकारी गराउनु भएको थियो ।

प्रदेश पाँचका प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रदेश स्थापनाकालदेखि प्रदेश सभा सचिवमा काम गरेका पूर्व सचिवहरु सुरेश अर्याल, डा. मानबहादुर बिके र प्रेमप्रसाद भट्टराई, प्रदेश सचिवालयका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो । त्यस्तैगरी प्रदेश सभा स्थापना दिवसको अवसरमा आयोजना गरिएका मैत्रीपूर्ण प्रतियोगिताका सहभागिहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रदेश सभा सचिवालयले प्रदेश स्थापना दिवसको अवसर पारेर सरसफाई कार्यक्रम, रक्तदान कार्यक्रम गर्नुका साथै प्रदेश मन्त्रि परिषद र प्रदेश सभा सचिवालय बिचमा मैत्रीपूर्ण फूटवल, प्रदेश सभाका महिला सांसद र प्रदेश सभाका महिला कर्मचारी बिचमा कुर्ची दौड प्रतियोगिता गरिेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्