नेकपा आगामी निर्वाचनमा फेरी दुई तिहाइ ल्याउन कसैले रोकेर रोकिँदैनः प्रधानमन्त्री


न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

वर्तमान सरकारले विकास निर्माणलाई गति दिएकाले आगामी सरकारले केही गरेन भनेर फैलाउन खोजिएको भ्रमको कुनै असर नपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘म खुलारुपमा भन्न चाहन्छु, अब नेकपाले दुई तिहाइ ल्यायो, ल्यायो । कसैले रोकेर रोकिँदैन । रोक्नका लागि तयारी गर्नुछ भने लागे हुन्छ ।’
प्रधानमन्त्री ओलीले आफु पार्टीमा अध्यक्ष रहेको र प्रधानमन्त्री भईकन पनि निर्णयहरु एकता र सहमतिका साथ गरिएको बताउनुभयो ।

उहाँले मुलुकको समृद्धिको लक्ष्य लिएर अघि बढेकाले बहुमत र अल्पमतमा भन्ने खुद्रामसिना कुरामा ध्यान नभएको तर कतिपय सञ्चारमाध्यमले चलाएको भ्रममा परेर को बहुमत र को अल्पमतमा भन्नेतिर नलागी न्यायपूर्ण र समतामूलक समाज निर्माणमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

आफूले पछिल्लो समयमा नेतृत्व गरेको सरकारका राम्रा कामको केही झलक हालै सम्पन्न पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकमा प्रस्तुत गरेको बताउँदै उनले त्यसलाई अध्ययन गरी प्रचार गर्न पनि महिला नेत्रीलाई आग्रह गर्नुभयाे । उहाँले छाउपढी जस्ता कुप्रथा अन्त्यका लागि मनमस्तिष्कदेखि लाग्नुपर्ने आग्रह गर्दै विद्रोह र सङ्घर्षलाई सही बाटाका साथ सङ्घर्ष र मेलमिलापबाट रुपान्तरणमा ल्याउन आवश्यक रहेको पनि बताउनुभयाे ।

पार्टी निकट अखिल नेपाल महिला सङ्घको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
सो सङ्घको एकतापछि चार हजार ४ सय ७५ सदस्यीय केन्द्रीय समितिका सदस्यले आज शपथ ग्रहण गरेका छन् । सङ्घका अध्यक्ष अमृता थापाले अब आफूहरु छिट्टै जिल्ला तहको एकतामा जाने जानकारी दिनुभयाे ।