‘पैसा कमाउनकै लागि भागवत आयोजना गर्ने प्रवृत्ति बढ्यो’

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर ।

प्राविधिक शिक्षाका लागि चाँगुनारायण नगरपालिका १ स्थित चाँगुनारायण माध्यमिक विद्यालयमा आयोजित सप्ताहव्यापी ज्ञान महायज्ञबाट एक करोड १४ लाख रुपैयाँ संकलन भएको छ। जसमध्ये ६६ लाख रुपैयाँ नगद र ४८ लाख रुपैयाँ उधारो सहयोगको प्रतिबद्धता व्यक्त भएको हो।

चाँगुनारायण माविमा प्राविधिक शिक्षाको अध्यापन गर्न गराउन आर्थिक संकलन गर्ने उद्देश्यले उक्त महायज्ञ गरिएको थियो। जसअनुसार एकहप्ते महायज्ञबाट उक्त आर्थिक सहयोग संकलन भएको महायज्ञका संयोजक उद्धव खड्काले जानकारी दिनुभयो ।

महायज्ञ मूल समारोह समितिका कोषाध्यक्ष विष्णुहरि थापाले महायज्ञमा उपस्थित प्रदेश सांसद कृष्णलाल भँडेलले आफ्नो संसद विकास कोषबाट १० लाख रुपैयाँको योजना उपलब्ध गराउने प्रतिबद्धता गर्नुभएको छ ।

त्यस्तै जिल्ला समन्वय समिति भक्तपुर प्रमुख नवराज गेलालले १० लाख, चाँगुनारायण नगरपालिका १ का अध्यक्ष राजेश खड्काले १५ लाख, वडा नं ३ का अध्यक्ष श्यामसुन्दर धिमालले १२ लाख र वडा नं ४ का अध्यक्ष बुद्धिलाल महर्जनले १० लाख रुपैयाँ बराबरको योजना सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको कोषाध्यक्ष थापाले जानकारी दिनुभयो ।

त्यस्तै विद्यालयका पूर्व बिद्यार्थी प्रकाश सापकोटाले एक लाख रुपैयाँ सहयोग
गर्ने  प्रतिबद्धता जनाउनु भएको छ । दुवाकोटस्थित नेपाल इञ्जिनियरिङ कलेजले एक लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

सप्ताहव्यापी महायज्ञको समापन गर्दै मुक्तिनाथ बाबा आश्रमका सञ्चालक कमल नयनाचार्यले अहिले भागवतलाई मागिखाने भाँडो बनाउन थालेको बताउन भएको छ ।

सत्कर्म तथा राम्रो उद्देश्यको लागि भन्दा पनि पैसा कमाउनकै लागि भागवत आयोजना गर्ने प्रवृत्ति बढेको उहाँको भनाइ थियो। त्यसैले सबै ठाउँमा हुने भागवतमा जानसमेत डराउनुपर्ने अवस्था आएका उहाँले बताउनुभयो ।

स्वामी कमल नयनाचार्यले भन्नुभयो ‘जेल बसेकाहरुले समेत भागवत चलाउन थालेका छन्। त्यसैले अब भागवतमा जाँदा पनि बुझेर जानुपर्ने स्थिति आएको
छ।’

नयनाचार्यले विद्यालयमा आधुनिक शिक्षामात्रै नदिई नैतिक शिक्षा तथा अध्यात्म एवं ब्रह्म शिक्षा दिनसमेत आह्वान गर्दै नैतिक शिक्षासँगै अध्यात्म एवं ब्रह्म शिक्षाको लागि आफूहरु तयार रहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका संयोजक खड्काले महायज्ञ सञ्चालन गन{ करिब १५ लाख रुपैयाँ खर्च भएको बताउनुभयो ।

प्राविधिक विषयको पढाइ सञ्चालन गर्न चाँगुनारायण माध्यमिक विद्यालयले भागवत महायज्ञ पुराणको आयोजना गरेको हो । विद्यालयका प्रधानाध्यापक दधिराम गेलालले प्राविधिक जनशक्तिको उत्पादन विना देशको विकास सम्भव नभएको भन्दै आफूहरुले सामुदायिक विद्यालयमा पा्रविधिक शिक्षाको विकास गर्न  यज्ञको आयोजना गरिएको बताउनुभयो ।

प्रथम राष्ट्रपति डा.रामबरण यादवले उद्घाटन गरि सुरु भएको महायज्ञ एक सातासम्म सञ्चालन भएको थियो ।

ज्ञानमहायज्ञमा भागवत भाष्कर पण्डित माधवप्रसाद कुईकेलले पुराण बाचन गर्नु भएको थियो । शिशु कक्षादेखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा अहिले ५ सय १५ जना विद्यार्थी अध्ययन गर्दै आएका छन् ।