डान्स क्लबमा खिचियो चपली हाइटको लोक भाका

0
Shares

निकेश खड्काको निर्देशनमा बनेको फिल्म चपली हाइट ३ को पहिलो गीत चार आनाको मसला सोमबार राजधानीको राइजिङमलस्थित क्युज सिनेमामा सार्वजनिक गरिएको छ। सस्पेन्स थ्रिलर कथामा निर्मित फिल्मको लोक भाकाको गीतमा राज खम्बू र अस्मिता अधिकारीको स्वर रहेको छ भने डीपी खनालको शब्द र सुभास भुसालको संगीत रहेको छ।

डान्स क्लबमा छायांकन गरिएको गीतमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी र अमिर गौतमलाई फिचरिङ गरिएको छ। स्वस्तिमा र सुपुष्पालाई बोल्ड अवतारमा प्रस्तुत गरिएको गीतको प्रदीप लामाले कोरियोग्राफी गरेका हुन्।

कार्यक्रममा बोल्दै फिल्मका निर्माता अर्जुन कुमारले आफ्नो फिल्म प्रदर्शन मितिमा अरू फिल्म रिलिज हुँदा आफूलाई फरक नपर्ने जनाउँदै भने– ‘मैले कुनै समाजसेवाका लागि फिल्म बनाएको होइन, पैसाका लागि बनाएको हुँ। आजसम्म मेरो सबै फिल्म चलेको छ र यो सातौं फिल्म पनि चल्नेछ।’

बारम्बार प्रदर्शन मितिलाई लिएर एउटै प्रश्न सोध्दा आफूलाई ह्यारेसमेन्ट भएको उनले बताए। नायिका सुपुष्पा भट्टले लोकगीत क्लबमा खिच्नेभन्दा आफू अचम्ममा पर्नुका साथै निकै उत्साहित पनि भएको बताइन्। अभिनेता महेश त्रिपाठीले निकै नै फास्ट टेकमा काम सम्पन्न गरेको बताए।

संगीतकार सुवास भुसालले गीत राज खुम्बुको एल्बमका लागि बनाइएको तर पछि फिल्ममा राखिएको खुलाए। आगामी चैत २८ लाई प्रदर्शन मिति तोकिएको फिल्ममा स्वस्तिमा, सुपुष्पा, अमीर र महेशको साथमा प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवालगायतका कलाकारले अभिनय गरेका छन्।