बुलबुललाई फ्रान्सको पब्लिक च्वाइस अवार्ड

0
Shares

विदेशका विभिन्न महोत्सवमा सहभागी हुँदै आएको फिल्म बुलबुलले फ्रान्समा पब्लिक च्वाइस अवार्ड जितेको छ। फ्रान्समा ५ दिनसम्म चलेको साउथ एसियन फिल्म फेस्टिबलमा बुलबुलले पब्लिक च्वाइस अवार्ड हासिल गरेको हो।

फिल्मका निर्देशक विनोद पौडेलले आइतबार साँझ घोषणा भएको कार्यक्रममा फिल्मले अवार्ड पाएको जानकारी गराए। अभिनेत्री स्वस्तिमा खड्काका साथ फेस्टिभलमा सहभागी भएका पौडेलले तीन विधामा प्रदान गरिने अवार्डमध्ये दुईमा भारतीय फिल्ममेकरले कब्जा जमाएको पनि जानकारी गराए।

दक्षिण एसियाली फिल्मका बीच भएको प्रतिस्पर्धामा भारतकै टेकिङ द हर्सेज टु इट जलेबीज द अनामिका हसकरले स्टुडेन्ट जुरी अवार्ड र भारतकै मोथोन द गितु मोहनदासले जुरी अवार्ड पाएका थिए।

फिल्मको प्रदर्शनपछिको अन्तक्र्रियामा फिल्म हेर्ने दर्शकले फिल्ममा स्वस्तिमाको अभिनय र फिल्मको अन्त्य अत्यन्त मन पराएको पौडेलले बताए। ‘पुरुष फिल्ममेकरले महिलाको मनोविज्ञान कति मज्जाले उतारेको भनेर उनीहरूले तारिफ गरे। स्वस्तिमाको अभिनय र फिल्मको अन्त्य देखेर पनि उनीहरू प्रभावित भएका थिए।

नेपालमा पनि राम्रा फिल्म बन्दा रहेछन्। अब खोजी खोजी हेरिन्छ भन्ने पनि उनीहरूको प्रतिक्रिया थियो।’ –फ्रान्सबाट पौडेलले जानकारी गराए। बुलबुलले यसअघि नेपालकै दुई राष्ट्रिय अवार्ड र सार्क फिल्म फेस्टिवमा एउटा अवार्ड पाइसकेको छ। नेपालको राष्ट्रिय अवार्डमा अभिनेत्री र निर्देशन विधामा पुरस्कार जितेको फिल्मबाट स्वस्तिमा खड्काले सार्कमा जुरी अवार्ड जितेकी थिइन्।