चीनबाट आउने पर्यटकमा कमी, मध्य–पूर्वतिर प्रचार बढाउन व्यवसायीको सुझाव

0
Shares

परिवर्तन देवकोटा, काठमाडौं।

पाल भ्रमण वर्षको शुरुआतमै चिनियाँ पर्यटकको आवागमन कम भएपछि यसको सफलतामा चुनौती थपिएको छ। सबैभन्दा नजिकको छिमेकी मुलुक चीनबाट सबैभन्दा धेरै पर्यटक ल्याउने सरकारको लक्ष्यलाई कोरोना भाइरसले प्रभावित पारेको हो।

प्रतिनिधि सभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्षलाई प्राकृतिक प्रकोप तथा अन्य कारणले प्रभावित हुनसक्ने बताएसँगै यसबारे बहस छेडिएको हो।

नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङले भ्रमण वर्ष २०२० को अवसरमा चीनबाट धेरैभन्दा धेरै पर्यटक पठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। तर, हालै चीनमा फैलिएको नोबेल कोरोना भाइरसको महामारीका कारण २० लाख पर्यटक भित्याउने महत्वाकांक्षी लक्ष्य प्रभावित हुने सम्भावना बढेको छ।

नेपाल भ्रमण वर्षको प्रचार भइरहँदा चीनबाट आउने पर्यटकको संख्यामा क्रमिक रूपमा गिरावट आउन थालेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णका अनुसार चीनले नेपालमा गर्दै आएको दुईवटा उडानमध्ये एक उडान कटौती गरिसकेको छ।

नोबेल कोरोना भाइरसको संक्रमणले विकराल रूप लिएपछि चीन सरकारले आफ्नो देशबाट कोही पनि बाहिर नजान निर्देशन दिएसँगै नेपाल आउने उडान कटौती भएको हो। नेपाल समाचारपत्रसँग कुरा गर्दै विमानस्थलका प्रवक्ता चन्द्रलालकर्णले भन्नुभयो– ‘चीनबाट दुईवटा उडान हुँदै आएका थिए, भाइरसको संक्रमण फैलिएपछि आगामी १० तारिखसम्मका लागि एक उडान स्थगित गरिएको छ।’

उहाँका अनुसार, चीनले गोन्जाउ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालमा बिहान र साँझ गरी दुईवटा उडान गर्दै आइरहेको छ। तर कोरोना भाइरसको संक्रमण फैलिएसँगै साँझको उडान स्थगित गरिएको उहाँले जानकारी दिनुभयो।

उडान कटौती भएसँगै चीनबाट आउने पर्यटकहरूको संख्यामा कमी आएको छ। भाइरसको संक्रमण फैलिएपछि स्वाभाविकरूपमा पर्यटक कम आएका थिए तर उडान कटौती नै गरेपछि भने आवागमनमा धेरै नै ह्रास आएको उहाँले बताउनुभयो।

यसैबीच अध्यागमन विभागले चीनबाट आउने पर्यटकको संख्या क्रमिकरूपमा घट्न थालेको बताएको छ। नेपाल समाचारपत्रसँगको कुराकानीमा विभागका सूचना अधिकारी रामचन्द्र तिवारीले हवाई उडानमा कटौती गरेसँगै पर्यटक आवागमनमा गिरावट आएको बताउनुभयो।

उहाँका अनुसार, जनवरी महिनाको अन्तिमसम्ममा १३ हजार ९ सय चिनियाँ नागरिक नेपाल आएका छन्। अहिले भने क्रमिक रूपमा आवागमन घट्दै गएको उहाँको भनाइ छ।

नयाँ विकल्पको खोजी

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी भने नेपाल भ्रमण वर्षमा कोरोना भाइरसले पर्यटकहरूको आवागमनमा कमी ल्याएको बताउनुभयो। उहाँले चिनियाँ पर्यटकहरू अबको केही महिनासम्म नेपाल आउने अवस्था नरहेको बताउँदै उहाँले नेपालले चिनियाँ पर्यटकहरूका लागि केही महिनासम्म ‘पर्ख र हेर’ बाहेक अन्य केही गर्न नसक्ने बताउनुभयो।

उहाँले भ्रमण वर्ष सफल पार्नका लागि दक्षिण पूर्वी एसियामा नेपालको प्रचार गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले भन्नुभयो– ‘नेपालमा आउन अब दक्षिण पूर्वी एसियाका मुलुकहरूलाई आ≈वान गर्नुपर्छ।’

उहाँले मलेसिया, बंगलादेश, भारतलगायतका मुलुकका पर्यटक भित्याउनका लागि सरकारले नयाँ प्याकेज घोषणा गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘सरकारले ती मुलुकहरूबाट पर्यटक भित्याउन नयाँ प्याकेज घोषणा गर्नुपर्छ।’

चिनियाँ पर्यटक नआउँदैमा भ्रमण वर्ष सफल नहुने भन्ने नभएको भन्दै अन्य मुलुकबाट पर्यटक भित्याउन सरकार तथा, पर्यटन व्यवसायी तथा अन्य सरोकारवाला निकायसँग मिलेर नयाँ प्याकेज ल्याउने विषयमा छलफल भइरहेको बताउनुभयो।

होटल व्यवसायी भन्छन्– हल्ला बढी भो

होटल एसोसियसन नेपालका उपाध्यक्ष विनायक शाह नेपालका लागि कोरोना भाइरस समस्या नै नभएको बताउनुहुन्छ। उहाँले चीनमा यसको प्रभाव धेरै भए पनि नेपालमा नरहेको भन्दै यसबारे धेरै हल्ला फिजाउन नहुने बताउनुभयो।

भ्रमण वर्ष सफल बनाउन कोरोना भाइरसले प्रभावित नबनाउने बताउँदै उहाँले अहिले चीनबाट आउने पर्यटकको संख्यामा केही कमी आएको भने सत्य रहेको बताउनुभयो।

भ्रमण वर्ष सफल बनाउन नेपालले कोरोना भाइरसको जोखिम नरहेको सन्देश विश्वस्तरमा फैलाउनु आवश्यक रहेको उहाँको भनाइ छ। ‘सरकारले नै जोखिम नरहेको बताइसकेको अवस्थामा बाहिर जेजति प्रचार गरिएको छ, त्यसले राम्रो सन्देश दिँदैन,’ उहाँले भन्नुभयो– ‘हामीले सकारात्मक सन्देश विश्वसामु फैलाउनुपर्यो।’

भ्रमण वर्ष सफल बनाउन नयाँ प्याकेज घोषणा गर्नुपर्ने बताउँदै उहाँले यसबारे पर्यटन व्यवसायी तथा सरकारसँग छलफल चलिरहेको बताउनुभयो। नयाँ मुलुकबाट पर्यटक भित्याउन आवश्यक तयारी गर्नुपर्नेमा उहाँको जोड छ।