मयुरधाप निर्माणाधीन औद्योगिक क्षेत्रमा लगानीकर्ताको चासो

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा।

हेटौंडा–१३ स्थित मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न चासो बढेको छ।उक्त औद्योगिक क्षेत्र सञ्चालनमा आए उद्योग स्थापन गर्न करिब ३ सय लगानीकर्ताले चासो देखाएका छन्।नयाँ औद्योगिक क्षेत्र स्थापनाको काम शुरु भएसँगै जग्गाप्राप्तिका लागि लगानीकर्ता निवेदन लिएर पुगे पनि उद्योग स्थापना गर्ने साइत भने जुर्न सकेको छैन। यसको कारण नजिक रहेको पर्सा राष्ट्रिय निकुञ्ज हो।

सोही निकुञ्जका कारण औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण ठप्प प्रायः छ। नयाँ लगानीकर्ता यो अन्योलता कहिले अन्त्य होला भन्ने प्रतीक्षामा छन्। सबैभन्दा पहिले जग्गा नाप र लालपुर्जा पाएको मयुरधाप औद्योगिक क्षेत्रको काममा भने ढिलाइ भइरहेको छ।

२०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयुरधापमा नयाँ औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयले २०७३ साउन ६ गते औद्योगिक क्षेत्र स्थापना गर्ने जग्गाको लालपुर्जा मयुरधाप औद्योगिक क्षेत्रको नाममा प्रदान गरिएको थियो।

स्वदेशी उत्पादनमा वृद्धि गर्ने तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्यले सरकारले औद्योगिक क्षेत्र स्थापनाको काम जारी राखेको बेला मयुरधाप औद्योगिक क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन वन तथा वातारण मन्त्रालयले स्वीकृत नगर्दा औद्योगिक क्षेत्र स्थापनाको काम रोकिएको हो।

उक्त औद्योगिक क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने भन्दै बन मन्त्रालयले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गर्न आनाकानी गरेको छ। हेटौंडा औद्योगिक क्षेत्र प्रमुख राजेन्द्रप्रसाद कँडेलका अनुसार औद्योगिक क्षेत्रको लालपूर्जा प्राप्त गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेर तारबार लगाएर प्लटसमेत छुट्याउने काम गरिसके पनि आईईई प्रतिवेदन तयार गरी वन मन्त्रालयसँग स्वीकृति माग्दा मन्त्रालयले स्वीकृति दिन आनाकानी गरिरहेको छ।‘त्यसयता कुनै काम अघि बढेको छैन,’ कँडेलले दुःख व्यक्त गर्नुभयो।

निकुञ्जले आफ्नो क्षेत्रमा परेको स्थान वन्यजन्तु आवतजावत गर्ने, पानीका लागि प्रयोग गर्ने क्षेत्र भएकाले औद्योगिक क्षेत्र निर्माणले संरक्षित बन्यजन्तुलाई असर पर्ने दाबी गरेको छ। औद्योगिक क्षेत्र निर्माणमा बाधा पुगेपछि हेटौंडा उपमहानगरपालिकाले औद्योगिक क्षेत्रमा बन्न लागेको जग्गासहित वडालाई मध्यवर्ती क्षेत्रभन्दा बाहिर राख्ने निर्णय गरी गत वर्ष मन्त्रालयमा सिफारिस गरेको थियो।

‘मन्त्रालयले कुनै निर्णय गरेको जानकारी हालसम्म प्राप्त भएको छैन,’ नगर प्रमुख हरिबहादुर महतले भन्नुभयो। औद्योगिक क्षेत्र तयारीका लागि करिब साढे सात अर्ब खर्च लाग्ने अनुमान गरिएको छ। डीपीआर तयारीपछि २० बिगाहा जमिन मुद्रण विभागले नोट छाप्ने उद्योग स्थापनाका लागि सम्झौता गरिसकेको छ। बाँकी जमिनलाई ४ देखि १४ रोपनीसम्मका ६३ प्लटमा विभाजित गरिएको छ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको परियोजना कार्यालय स्थापना गरी ७ जनाको दरबन्दी तोकेर कर्मचारी खटाइसकेको छ।
खहरे उकासको जमिनमा स्थापना हुन लागेको औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्ने तयारी छ।

पूर्वमा मयुरधापको बस्ती, पश्चिममा कालापानी, उत्तरमा हेटौंडा–१६ नम्बर वडा र दक्षिणमा उत्तरपानी पर्ने चार किल्लाभित्र खहरे उकास जमिनमा औद्योगक क्षेत्र स्थापना गर्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो। वर्षौंदेखि चुरे जंगल हुँदै मयुरधापमा खहरे बग्ने गरेको थियो। चुरेको खहरेले धार परिवर्तन गरेपछि ठूलो क्षेत्र प्रयोगबिहीन छ। उक्त जग्गा समथर छ। यही कारण उक्त स्थानमै औद्योगिक क्षेत्र स्थापनाको प्रयास गरिएको हो।