रोल्पामा वृद्धाको हातखुट्टा बाँधेर लुटपाट


न्युज अफ नेपाल, रोल्पा ।

रोल्पामा शुक्रबार ७२ वर्षीय वृद्धाको हत्या गरी लुटपाट भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–६, भनभनेका ७२ वर्षका बलिराम बुढाको हातखुट्टा बाँधेर हत्या गरी लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटपाटका क्रममा उनको ज्यान गएको र उनकी ७० वर्षकी श्रीमती काउली बुढाको स्थानीय बासिन्दाले उद्धार गरेका छन् ।

शुक्रबार राति करिब १० बजे ६ जना केटा र १ जना केटी लुटपाट गर्न गएका पीडित वृद्धाको भनाइ छ । घरमा कति रकम थियो भन्ने काउलीलाई यकिन जानकारी नभए पनि झण्डै १ लाख रुपैयाँजति नगद र २ तोला सुन लुटिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाइएको प्रहरीले जनाएको छ ।