विपन्न परिवारलाई बिहेका लागी आर्थिक सहयोग


सुभेन्द्र दास, लहान ।

सिरहाको औरही गाउँपालिका–२ बस्ने २१ बर्षीय रिंकु साफीको बिहेका लागी खाडीमुलुकमा पसिना बगाईरहेको नेपाली युवाहरुको एक समुहले आर्थिक सहयोग गरेको छ । ‘मानवसेवा नै वास्तबिक धर्म हो’ भन्ने उद्देश्यका साथ नि:स्वार्थ रुपमा काम काज गर्दै आईरहेको सो ग्रुपले नगद नेपाली रु २५ हजार लगायत लत्ता कपडा समेत सहयोग गरेको जनाएको छ ।

रिंकु साफि लगायत ४ छोरी र २ छोरा गरि जम्मा ६ वटा सन्तान रहेको उनकी बुवा नेति साफिले बताए । सबैभन्दा जेठी छोरीको बिवाहका लागि ग्रुपले सहयोग गरेकोमा हर्षित हुँदै उनले भने– ‘दाहिजो लिनु र दिनु कानुनी अपराध हो बिना दाहिजोको रुपमा छोरी बिहे गरे, आफूलाई दाहिजो दिने क्षमता पनि छैन, गरिब र बिमारी छु, छोरा छोरीहरु सानो छन ।’ बच्चाहरुको पढाई लेखाईको लागि पनि सहयोगी हातहरुको अपेक्षा गरेको उनले बताए ।

आर्थिक अबस्था कमजोर रहेको नेति साफी बिरामी भएको कारण रिंकुको बिहेमा राहत स्वरुप नगद सहयोग गरेको ग्रुपले जनाएको छ । रिंकुको माघ १७ गते शुक्रबार सिरहाको धनगडीमाई नगरपालिका–८, बस्ने जय साफीसंग समाजिक परम्पराअनुसार बिबाह भएको थियोे ।

दलित समूदाय अन्तर्गत धोबी जातिहरुले रजक सेवा समाज ग्रुप स्थापना गरि सो जातिको गरिब, असहायहरुलाई बारम्बार सहयोग गर्दै आईरहेको ग्रुपका प्रतिनिधि हरेराम साफिले जानकारी दिए । मलेशिया, साउदी लगायत खाडी मुलुक गएका दलित जाती अन्तर्गत धोबी समुदायका युवाहरुले रजक सेवा समाज ग्रुप चलाईरहेको छ । नेपाल, भारतका धोबी समुदायका पिडीतहरुलाई ग्रुपले बारम्बार सहयोग गर्दै आईरहेको छ ।