उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल उपाधी चन्द्रपुरलाई


सञ्जय कार्की, रौतहट ।

निर्धारित समयमा गोलरहित खेल भएपछिको ट्राईबेकरमा चन्द्रपुर नगरपालिकाको टिमले चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधी हात पारेको छ । ट्राईबेकरमा स्याङ्गजाको वालिङ्ग नगरपालिका लाई ३ का बिरुद्ध ४ गोलले हराउदै चन्द्रपुर नगरपालिकाको टिम बिजयी भएको हो ।

स्वर्गीय शेर बहादुर दर्लामी हातेमालो खेल मैदानमा भएको खेलमा निर्धारित ९० मिनेटको समयमा दुबैपक्ष बाट गोल रहित खेल भएको हो । चन्द्रपुर नगरपालिकाको टिमले अनेकौ पटक गोल गर्ने प्रयास गरेपनि स्याङ्गजाको वालिङ्ग नगरपालिकाका गोल रक्षक सबिता किसनले बिफल तुल्याईदिएकी हुन । निर्धारित समयमा गोल रहित भएपछि थप गरिएको ३० मिनेटमा समेत दुबैपक्षले गोल भने गर्न सकेनन ।

गोलरहित खेल भएपछि भएको ट्राईबेकरमा चन्द्रपुर नगरपालिकाको तर्फ बाट सलोनी राना मगर, अस्मिता बैध, सपना राई, सबिता रानामगरले गोल गरेका हुन भने स्याङ्गजाको वालिङ्ग नगरपालिकाको तर्फ बाट मनमाया दमाई, पुष्पा गुरुङ्ग, र प्रतिक्षा चौधरीले गोल गरेका हुन । बिजेता चन्द्रपुर नगरपालिकाको टिम लाई ३ लाख नगदसहित ट्रफी र उपबिजेता वालिङ्ग नगरपालिकालाई १ लाख ५० हजार नगद र ट्रफि प्रदान गरिएको छ ।

सो खेलअबधिभर उत्कृष्ट खेल प्रर्दशन गरे बापत चन्द्रपुर नगरपालिकाको टिमका रजनी ठोकरले स्कुटी प्राप्त गरेकी छिन । उत्कृष्ट मिड फिल्डरमा चन्द्रपुर नगरपालिकाकी सबिता रानामगर, उत्कृष्ट डिफेन्डर समिक्षा घिमिरे, उत्कृष्ट फरवार्ड रजनी ठोकर, उत्कृष्ट गोलकिपर वालिङ्ग नगरपालिकाको सबिता किसन र उत्कृष्ट प्रशिक्षक चन्द्रपुर नगरपालिकाको नुरराज काफले भएका छन । उनीहरु लाई जनही १५ हजार नगद बाट पुरस्कृत गरिएको छ । आजको खेलमा वमन अफ दि म्याच मेनुका नगरकोटी भएकी छिन ।