६३ औं पटक रक्तदान गर्ने पूर्णचन्द्रसहित सम्मानित


यमलाल भुसाल, बुटवल ।

नेपाल रेडक्रस सोशाईटी मणिग्राम उपशाखाले आफ्ना आजीवन सदस्य जेष्ठ नागरिकलाई सम्मान गरेको छ । उपशाखाको शनिबार मणिग्राम स्थित शान्ति नमुना माध्यमिक बिद्यालयमा सम्पन्न १४ औं उपशाखा सभामा आजीवन सदस्यहरु जेष्ठ नागरिक बिजयप्रसाद धिताल, दिलबहादुर कार्की, प्रेमबहादुर भण्डारी, मुरारीप्रसाद अर्याल, गिरिराज पाठक र गिरिधारी बस्याललाई कदरपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

त्यसैअवसरमा संस्थाका निवर्तमान सभापति कृष्णप्रसाद गौतम, संस्थाका सल्लाहकार राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य गोपाल भट्टराई, ६३ औं पटक रक्तदान गर्ने संस्थाका आजिवन सदस्य पूर्णचन्द्र सुवेदीलाई पनि सम्मान गरिएको हो ।

उहाँहरुलाई नेपाल रेडक्रश सोशाईटी मणिग्राम उपशाखाका सभापति टेकबहादुर थापा, तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे, रुपन्देही जिल्ला शाखा सभापति प्रेमलाल उदासले संयुक्त रुपमा कदर पत्र प्रदान गरि दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

मणिग्राम उपशाखाको कार्यक्षेत्र भित्र पर्ने ३३ बिद्यालयका जुनियर-युवा रेडक्रस सर्कल मध्ये उत्कृष्ट शान्ति नमुना माध्यमिक बिद्यालय र उत्कृष्ट शिक्षक नायक तिलोत्तमा ११ स्थित विश्व एकता एकेडेमीका शिक्षक प्रदिप पाण्डेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका मेयर घिमिरेले रेडक्रसले माग गरे अनुसार रक्तसञ्चार सेवा केन्द्र सञ्चालनकालागि जग्गा व्यबस्था र भवन निर्माणकालागि आगामी वर्ष बजेट व्यबस्था गर्ने आश्वास दिनुभयो । गत वर्ष नै जग्गा व्यबस्थापनकालागि आग्रह गरिअनुसार प्रयास पनि गरिएको बताउँदै उहाँले आगामी वर्ष जग्गा पनि व्यबस्था गर्ने र भवन निर्माणकालागि बजेट समेत छुट्याउने आश्वासन दिनुभएको हो ।

कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै नेपाल रेडक्रस सोशाईटी मणिग्राम उपशाखाका सभापति टेकबहादुर थापाले तिलोत्तमा नगरपालिका भित्र शहरीकरण बढ्नुकासाथै जनघनत्व पनि बढ्दै गएको र अस्पताल खोल्ने क्रम पनि बढेकाले रक्तसञ्चार सेवा केन्द्र सञ्चालन अपरिहार्य रहेको बताउनु भएको थियो । त्यसकालागि जग्गा व्यबस्थापन गर्नकालागि उहाँले नगरपालिकाका मेयर घिमिरेलाई आग्रह गर्नुभएको थियो । जवाफमा घिमिरेल सरकारले गर्नुपर्ने काम रेडक्रसले गरेकाले रेडक्रसले प्रवाह गर्ने सेवा सुविधालाई सहज बनाउने काम नगरपालिकाले गर्ने आवश्वासन प्रदान गर्नुभयो ।

त्यस अवसरमा बोल्दै राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य भट्टराईले तिलोत्तमामा एउटा रक्तसञ्चार सेवा केन्द्र आवश्यक रहेकाले नगरपालिकाले जग्गा व्यबस्थापन गर्न र त्यसकालागि आफ्नो स्थानबाट पनि प्रयास गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोशाईटी रुपन्देही शाखाका सभापति प्रेमलाल उदासले मणिग्राम शाखाको रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्ने प्रस्ताव स्रहानीय रहेको बताउनु भयो । उहाँले यस क्षेत्रमा एउटा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्न सकियो भने बिरामीलाई आवश्यक पर्ने रगत व्यस्थापनकालागि पनि सहज हुने बताउनु भयो । हाल बुटवल रक्त सञ्चार सेवा केन्द्रबाट रुपन्देही सहित पाल्पा, कपिलबस्तु, नवलपरासी, चितवन, काठमाण्डौ सम्मबाट माग हुने गरेकाले व्यबस्थापन गर्न कठिन हुनेगरेको बताउँदै उहाँले तिलोत्तमामा बैंकको स्थापना हुन सक्यो भने रगतको व्यबस्थापनमा सहज हुने बताउनु भएको हो ।

रेडक्रस मणिग्राम उपशाखाका आजिवन सदस्य तथा शान्ति नमुना माध्यमिक बिद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले पनि रक्तसञ्चार सेवा केन्द्र स्थापनाकालागि जग्गा व्यबस्थापनकालागि नगरपालिकालाई आग्रह गर्नुभएको थियो । संस्थाका सचिव अर्जुन उपाध्यायको सञ्चालनमा भएको कार्यक्रममा अध्यक्ष थापाले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष रामप्रसाद ढकालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो ।