८ सय विद्यार्थीको स्वामी विवेकानन्द सँस्कृति परीक्षा


न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडामा विद्यार्थीलाई सँस्कार, सँस्कृतिको विकास गराउने उद्धेश्यले ज्ञान परीक्षा लिइएको छ । करिब ८ सय विद्यार्थीको स्वामी विवेकानन्द सँस्कृति ज्ञान परीक्षा लिइएको हो । शनिबार हिन्दु स्वयम्सेवक संघ नेपालको आयोजनामा स्वामी विवेकानन्द सँस्कृति ज्ञान परीक्षा भएको छ । हेटौंडास्थित बनविज्ञान अध्ययन संस्थानको मैदानमा विद्यार्थीले ४५ मिनेटको परीक्षा दिएका हुन् ।

मकवानपुरमा पहिलो पटक हेटौंडा उपमहानगरपालिकास्तरीय सँस्कृति ज्ञान परीक्षा भएको कार्यक्रम संयोजक ह्यग्रीव आचार्यले जानकारी दिनुभयो । संयोजक आचार्यले सानै तहका बालबालिकालाई सँस्कार र सँस्कृतिबारे जानकारी होस् र उनीहरु भविष्यमा असल नागरिक तयार हुन् भन्ने उद्धेश्यसाथ परीक्षा लिइएको बताउनुभयो ।

‘आदर्श विद्यार्थी नै आदर्श नागरिक’ भन्ने उद्धेश्यले नेपालको धर्म, सँस्कृति, भाषा नदीनाला, हिमाल, पहाड तराईलगायत विषयमा विद्यार्थीलाई प्रश्न सोधिएको थियो । विद्यार्थीलाई १ महिनाअघि ८ सय प्रश्नोत्तरको पुस्तक पढ्न दिइएको थियो । ५० वटा प्रश्न सोधिएको परीक्षामा ६ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थी सहभागी थिए ।

परीक्षामा प्रथम हुनेले २१ हजार रुपियाँ पुरस्कार पाउनेछन् । दोस्रो हुनेले १५ हजार, तेस्रो हुनेले ११ हजार रुपियाँ पुरस्कार पाउने संयोजक आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार सान्त्वनास्वरुप २५ उत्कृष्ट विद्यार्थीलाई ५ सय रुपियाँका दरले पुरस्कृत गरिनेछ ।

राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (ब्याकुल माइला) को प्रमुख आतिथ्यतामा परीक्षा सञ्चालन भएको हो ।