मछिन्द्र शीर्ष स्थानमा उक्लियो


न्युज अफ नेपाल, काठमाडौं ।

जारी सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत् शनिबारको खेलमा मछिन्द्र क्लबले जित हात पार्दै शीर्ष स्थानमा उक्लिन सफल भएको छ । दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले नेपाल एपीएफ क्लबलाई २–१ ले हराउँदै शीर्ष स्थानमा पुगेको हो । मछिन्द्रले १० खेलमा २२ अंक जोडेर त्रिभुवन आर्मी क्लबमाथि २ अंकको अग्रता बनाएको छ । आर्मीले १०औं चरणको खेल खेल्न भने बाँकी छ ।

पहिलो हाफमा १–० ले पछि परेको मछिन्द्रलाई दोस्रो हाफमा विशाल राई बी र रन्जित धिमालले गोल गरेर जित दिलाएका हुन् । ४३औं मिनेटमा रमेश दंगालले नवीन लामाको पासमा गोल गरेपछि एपीएफले १–० को अग्रता लियो । उनले गरेको हेड प्रहार क्रसबारमा छुँदै गोल भएको हो । एपीएफले राष्ट्रिय खेलाडीले भरिएका टोली मछिन्द्रविरुद्ध अप्रत्यासित रुपमा १–० को अग्रता लिन सफल भयो ।

तर यो अग्रता धेरैबेर भने टिक्न सकेन । दोस्रो हाफमा खेल शुरु भएको केही मिनेटमै मछिन्द्रले बराबरी गोल फर्कायो । बिशालले ४८औं मिनेटमा रन्जीतको क्रसमा गोल गरेपछि मछिन्द्रले खेलमा पकड बनायो । यसपछि मछिन्द्रले ७९औं मिनेटमा मिस पेनाल्टीलाई गोलमा परिणत गर्दै खेलमा पहिलो पटक अग्रता लियो । रन्जीतले गरेको पेनाल्टी प्रहारलाई राजु योगीले बचाए । तर बल रिबाउन्ड हुँदा रन्जीतले पुन प्रहार गर्दै गोल गरे । यसपटक राजुले उनको प्रहारलाई बचाउन विफल भए । योसँगै मछिन्द्र २–१ को अग्रतामा रह्यो ।

लगातार खराब प्रदर्शन गरिरहेको विभागिय टोली एपीएफको यो जारी लिगमा सातौं हार हो । १० औं चरणसम्मको खेलमा एपीएफले १ खेलमा जित र २ खेलमा बराबरी नतिजा बेहोरेको छ । ५ अंक जोडेको टोली पुछारको सरस्वतीसँग १ अंकले मात्रै अगाडि छ ।