८० वर्ष पुगेका ४७ जेष्ठ नागरिक सम्मान


मोतीराम तिमल्सिना, काभ्रे ।

श्रीखण्डपुर युवा समुह धुलिखेल नगरपालिका ५ श्रीखण्डपुरमा ८० वर्ष नाघेका ४७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । तीन वर्ष अघि पहिलो पटक युवा समुहले २३ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हाे ।

‘आमाबुबा भगवान हुन्, जसले भगवानलाई पुजा गर्छ, आफ्ना बाबुआमाहरुको सेवा गर्छ, उनिहरु सपुत हुन्’–बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले भन्नु भयो–‘बाबुआमालाई हेला गर्ने कपुत हुन् ।’ जेष्ठ नागरिकलाई सम्मान गर्दा भगवानलाई पुजा गरे जस्तै अनुभुति भएको कलाकार श्रेष्ठले बताउनु भयो । ‘८० वर्ष उमेर कटेका बुबाआमालाई सम्मान गर्न पाउँदा आफुलाई भाग्यमानी सम्झिएको छु’–उहाँले भन्नु भयो–‘छोराछोरीहरुले बुबाआमालाई बच्चा बेला हुर्काएको सम्झेर पनि सेवा गर्नु पर्छ ।’

जेष्ठ नागरिक सेवा केन्द्रका केन्द्रिय अध्यक्ष बरिष्ठ कलाकार मदनदास श्रेष्ठले जेष्ठ नागरिकहरु प्रतिको सम्मान आफैमा धर्म भएकाले सबैले सम्मान गर्नु पर्ने बताउनु भयो । राज्यले जेष्ठ नागरिकहरुका लागि धेरै प्रकारको सुविधा उपलब्ध गराएको भए पनि पर्याप्त नभएको कलाकार मदनदास श्रेष्ठले बताउनु भयो । कार्यक्रममा जेष्ठ नागरिक सेवा केन्द्रका महासचिव छत्र प्रधान, जिल्ला अध्यक्ष सिद्धीबहादुर जोशी, धुलिखेल अध्यक्ष दिलसुन्दर श्रेष्ठ, कलाकार गौरीशंकर धुँजु, वडा अध्यक्षहरु गंगासागर रञ्जित, रविन्द्र कर्माचार्य लगायतले जेष्ठ नागरिक प्रति सम्मानले हौसला मिलेको बताउनु भएको थियो ।

श्रीखण्डपुर युवा समुहले श्रीखण्डपुर नक्षत्रका रुपमा गोविन्दलाल प्रधानाङ्ग र जयराम श्रेष्ठलाई सम्मान गरेको थियो । ‘हामी हरेक तीन वर्षमा जेष्ठ नागरिक सम्मान गर्दै आएका छौ’–अध्यक्ष भवसागर रञ्जितले भन्नु भयो–‘पहिलो पटक २३ जना जेष्ठ नागरिक सम्मान गरेका थियौं । यो वर्ष ८० वर्ष कटेका ४७ जना जेष्ठ नागरिक सम्मान गरेका छौं ।’

उहाँहरु प्रतिको सम्मानका लागि दोसल्ला, प्रमाणपत्र, मायाको चिनोले संस्थाले सम्मान गरेको थियो भने अन्य संघ संस्था तथा ब्यक्तिहरुले हर्लेक्स तथा जेष्ठ नागरिकहरुका लागि आवश्यक पर्ने सामानहरु प्रदान गर्नु भएको थियो । सामाजिक काममा सक्रिय श्रीखण्डपुर युवा समुहले जेष्ठ नागरिक सम्मानका अलावा अन्य कार्यहरु गर्दै आएको अध्यक्ष रञ्जितले बताउनु भयो । कार्यक्रममा स्थानीय क्षेत्रका विभिन्न तहका ब्यक्तिहरुको सहभागिता रहेको पूर्णसागर रञ्जितले बताउनु भयो ।