नागरिकले प्रत्यक्ष अनुभव गर्न नसकेपनि प्रदेशसभाले विधि बनाउने काम गरेको छः सभामुख घर्ति


यमलाल भुसाल, बुटवल ।
प्रदेश ५ सभामुख पूर्णबहादुर घर्तिमगरले राज्य र जनताप्रति उत्तरदायी हुनुपर्ने कुरालाई जोड दिनुभयो । प्रदेश स्थापना दिवसका अवसरमा संसदिय मामिला पत्रकार समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शनिवार बुटवलमा वोल्दै सभामुख घर्तिमगरले आफ्नो अनुभव सुनाउँदै राज्य र जनताप्रति उत्तरदायी हुनुपर्ने कामका दौरानमा अनुभव भएको खुलासा गर्नु भयो ।

मुलुक संघीयतामा गएपछि सबैका लागि नयाँ अनुभव र प्रदेश स्तरमा गरिएका संसदीय अभ्यासमा २ वर्षको अनुभव सुनाउँदै घर्तिले नेताहरुको प्रवृत्तिहरुमा समेत टिप्पणी गर्नुभयो । नागरिकले प्रत्यक्ष अनुभव गर्न नसकेपनि प्रदेशसभाले विधि बनाउने, सरकार र प्रतिपक्ष बिचको दुरी घटाउने र जनताका आवाजलाई मुखरित गर्ने काम गरेको सभामुख घर्तिले बताउँनुभयो । प्रदेशसभा पहिलो हुने दौडमा नलागेको तर अरुभन्दा राम्रो बनाउने काममा लागेको उहाँले बताउँनुभयो । नागरिकले प्रदेशसभाबाट गरेको अपेक्षा स्वभाविक भएको आलोचनात्मक सुझावलाई दिशा निर्देशको रुपमा लिएको उँहाको भनाई थियो ।

उपसभामुख कृष्णी थारुले अरुले के गरे भन्दा पनि प्रदेश ५ लाई कस्तो बनाउने भन्ने विषयमा संसदको ध्यान केन्द्रित भएको बताउँनुभयो । खुल्ला संसदको अवधारणाले नागरिकलाई संसदका कामप्रति भोक जगाउने काम गर्ने र छलफलबाट समस्याको समाधान हुने थारुले बताउँनु भएको छ । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले कानुन बनाउने भन्दा पनि कार्यान्वयन महत्वपूर्ण पाटो भएको उल्लेख गर्दै धेरै र एकआपसमा बाझिएका कानूनका कारण कार्यान्वयनमा समस्या देखिएको बताउँनुभयो ।

अधिवक्ता महेन्द्र पाण्डेले प्रदेशसभा श्रृजनात्मक र मौलिकता हुन नसकेको टिप्पणी गर्दै नागरिकले प्रदेश ५ बाट गुणस्तरीयतासँगै आफ्ना आवाज बोल्ने ठाउं बनाउन खोजेका हुन तर त्यसो हुन नसकेको बताउँनुभयो ।

२०७४ साल माघ २१ गते पहिलो बैठक बसेको प्रदेश नं. ५ प्रदेशसभाले माघ २१ गतेलाई प्रदेशसभा स्थापना दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाउंदै छ । सोही अवसरमा संसदिय मामिला पत्रकार समाजले प्रकाशन गरेको प्रदेश सभा सदस्य परिचय पुस्तिकाको विमोचन गरिएको थियो । पुस्तकमा प्रदेश सांसदहरुको व्यक्तिगत विवरणहरु उल्लेख गरिएको छ ।