मेयर उपमेयरसहित सयौं किसानले उठाए ३६ मौजाको फोहर


यमलाल भुसाल, बुटवल ।

तिलोत्तमा नगरपालिकाले अगाडी सारेको खुला शुन्य पोलिथिन अभियानलाई सफल बनाउनका लागि शनिबार यहाँको सवै भन्दा ठुलो र पुरानो ३६ मौजा नहर सफाई गरिएको छ । ३६ मौजा सिंचाई प्रणालीको अगुवाइमा सयौं किसानहरुले शनिबार नहर सफाई गरेका हुन् । नहर सफाई कार्यक्रमको शुभारम्भ योगिकुटीमा नगरप्रमुख वासुदेव घिमिरे र जमुहानीमा उपप्रमुख जगेश्वरदेवी चौधरीले गर्नु भएको हो ।

३६ मौजा सिंचाई प्रणाली अन्तर्गत करिव ३५ सय हेक्टर क्षेत्रफलमा सिंचाई हुने गर्दछ । कुलो तथा नहरमा बग्ने फोहरसमेत रोक्नेगरी नगरपालिकाले थालेको अभियानलाई साथ दिंदै किसानहरु आफै नहरभित्र पसेर फोहर संकलनमा जुटेका हुन् । ३६ मौजा अन्तर्गतका सातवटा क्षेत्रमध्ये वडा नम्बर १ र २ को योगीकुटी, ३ को शारदा स्कुल, ४ को प्रगति चोक, वडा नम्बर ५ को पुरानो हेल्थपोष्ट चार नम्बर, ६ को पुरानो सातकुले गाईघाटे र वडा नम्बर ७ को जमुहानीबाट सफाई अभियान सुरुवात गरिएको थियो ।

तिलोत्तमा नगरपालिकाले बुटवल उपमहानगरपालिका हुँदै नहरमा बगेर जाने फोहरसमेत जाली लगाएर रोक्ने प्रयास गरेपनि नहरमा अझै फोहर थुप्रिन थालेपछि सिंचाई प्रणालीले किसानहरुलाई सहभागी गराएर फोहर संकलन गरेको हो । योगीकुटीमा अभियानको शुभारम्भ गर्दै नगरप्रमुख घिमिरेले नगरबासीकै सहभागितामा सिंगो नगरपालिका खुला शुन्य पोलिथिनमुक्त हुने क्रममा रहेको भन्दै अव जथाभावी फोहर गर्ने क्रम रोकिने बताउाु भयो । “जथाभावी फयाँकिएको फोहरले स्थानीयकै स्वास्थ्यमाथि गम्भीर असर पुर्याउँछ, तसर्थ यसतर्फ नगरबासी आफै सचेत हुनु जरुरी छ”–उहाँले भन्नु भयोे–“शुन्य पोलिथिन घोषणा मात्र होइन, यसको कार्यान्वयन पनि कडाइपुर्वक गरिने छ ।”

जमुहानीमा अभियानको शुभारम्भ गर्दै नगर उपप्रमुख चौधरीले नहरमा फ्याँकिने प्लाष्टिकजन्य फोहरले किसानको खेतबारीमा असर पु¥याउने र उत्पादन घट्ने भन्दै नहरलाई पुर्णरुपमा स्वच्छ राख्नुपर्नेमा जोड दिनु भयो । छत्तीस मौजा सिंचाई प्रणालीका अध्यक्ष कृष्ण पौडेलले फोहर र प्लाष्टिकका कारण खेतीयोग्य जमिन जर्जर भएको र उत्पादनमा ह्रास आएको भन्दै अव नहरमा फोहर फयाँक्न नदिइने र नगरपालिकाको खुला शुन्य पोलिथिन अभियानलाई सफल पारिने बताउनु भयो ।

नहर आसपासका ब्यापारी तथा बासिन्दाले नहरमा फाल्ने प्लाष्टिकका झोला तथा बोत्तल, कपडा, अस्पतालजन्य फोहरका कारण किसानहरुको खेत छपक्कै ढाकिने गरेको भन्दै उहाँले यसका विरुद्ध सबै किसान सरसफाईमा जुटेको र चेतना फैलाउने काम गरेको बताउनु भयो । संस्थाका वरिष्ठ उपाध्यक्ष एवं सरसफाई उपसमितिका संयोजक विष्णु प्रसाद भट्टराईले आफ्नो फोहर ब्यवस्थापन गर्ने दायित्व सम्वन्धित बासिन्दाको भएको भन्दै अव नहरमा प्लाष्टिकजन्य र अरु कुनैपनि खाले फोहर नफ्याँक्न सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गर्नु भयो ।

संस्थाका सचिव रुकु पाण्डेले ३६ मौजा सिंचाई प्रणालीअन्तर्गत हाल ५७ मौजा पुगिसकेको भन्दै ठूलो संख्यामा किसानहरुले खेती गर्ने नहर भएकाले यसलाई सफा र स्वच्छ राख्नु जरुरी रहेको बताउँदै खुला शुन्य पोलिथिन बनाएरै छाड्ने बताउनु भयो ।