कवाडीको खातले च्यापिएर एकै परिवारका चारको मृत्यु



बुटवल, (नेस)।

सुन्दा पनि अचम्म लाग्ने बोराले च्यापिएर परिकारका सबै सदस्यको एकै चिहान भएको छ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी पिपरहियामा भाडामा बस्दै आएका कवाडी बोराको काम गर्ने एकै परिवारका ४ जनाको बोराले च्यापिएर मृत्यु भएको छ। आफैँले जम्मा गरेका कवाडका बोराको खात पल्टिएर च्यापिँदा भारतीय नागरिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतको बिहारको बलियास्थित तपनीगाउँका सहजाद हुसेन, उनकी श्रीमती सद्धाव खातुन, छोरा सुल्तान र छोरी सहिना मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

उनीहरूको आफैँले संकलन गरेर राखेको बोराको थुप्रो पल्टिँदा खाटमा सुतेका उनीहरूको निस्सिएर मृत्यु भएको प्रहरीले अनुमान गरेको छ। बिहान अबेरसम्म नउठेपछि सोही घरकै अर्को कोठामा वस्ने दाजुभाउजुले उठाउन खोज्दा घटना भएको थाहा भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खडक बहादुर खत्रीले बताउनुभयो।

उनीहरूको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रनाउ खत्रीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्