मिर्मीमा नयाँ सब–स्टेसन सञ्चालनमा आयो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

नेपाल विद्युत प्राधिकरणले स्याङ्जाको मिर्मीमा नयाँ सब–स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ। प्राधिकरणको योजना तथा प्राविधिक सेवा विभागअन्तर्गतको बिस्तारित विद्युत् वितरण आयोजना र वितरण प्रणाली सुदृढीकरण आयोजनाद्वारा उक्त सब–स्टेसन निर्माण गरिएको हो।

कालिगण्डकी जलविद्युत् केन्द्रको ड्यामसाइट नजिक रहेको कर्मचारी आवास क्षेत्रको छेउमा साबिकको इटाली चोकमा रहेको पुरानो जीर्ण सब–स्टेसन जहाँ ३३/११ केभी १.५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरबाट लाइन बितरण गरिएकोमा उक्त सब–स्टेसनको स्तरोन्नती गरी ३३/११ केभी, ६/८ एमभीएको पावर ट्रान्सफर्मर जडान गरिनुका साथै करिब १२ किलोमिटर ११ केभी लाइनसमेत निर्माण गरिएको छ।

२०६८ सालदेखि उक्त स्थानमा एसियाली विकास बैंकको सहयोगमा सब–स्टेसन निर्माण कार्यको थालनी गरिए पनि उक्त ठेक्का लिएको भारतीय निर्माण कम्पनी अराबली इन्फ्रा पावर लिमिटेडले निर्धारित समयमा काम सम्पन्न नगरेको कारण उस्ले सम्पन्न गर्न बाँकी रहेको काम बंगलादेशको इनर्जी प्याक इन्जिनियरिङ लिमिटेडले पूरा गरेको हो।

हाल उक्त स्थानमा सञ्चालन गरिएको सब–स्टेसनबाट स्याङ्जाको मिर्मीलगायत सेतीबेनी, बिर्घा र गल्याङको केही भाग, गुल्मी जिल्लाको केही भाग, पर्वत जिल्लाको केही भाग लगायत रुरु क्षेत्रमा समेत विद्युत् सेवाको गुणस्तरमा सुधार र बितरण प्रणालीमा सहज भई करिब ९ हजार घरधुरीले गुणस्तरीय र भरपर्दो विद्युत् प्रयोग गर्न पाएको स्याङ्जा बितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले बताउनुभयो।

हाल उक्त नयाँ सब–स्टेसनबाट बिर्घा र सेतीबेनी फिडर सञ्चालन गरिएको छ भने थप अर्को ११ केभी फिडरको लागि लाइन बितरण गर्ने सँरचना समेत तयारी अवस्थामा राखिएको आयोजनाका सहायक इन्जिनियर दुर्गादत्त सुवेदीले बताउनुभयो।

उक्त सब–स्टेसन निर्माणको क्रममा साबिकको ठेकेदार कम्पनीले प्राधिकरणको स्वामित्वको जग्गामा निर्माणकार्य जारी राखेको समयमा केही स्थानीय बासिन्दाबाट काममा रोकावट भई काम हुन नसकेको मा हाल उक्त स्थानमा कालिगण्डकी गाउँपालिका, स्याङ्जा बितरण केन्द्र र कालिगण्डकी जलविद्युत् केन्द्रको समन्वयमा उक्त नो लाइट भवनको बाँकी काम समेत अबको एक महिनाभित्रमा सम्पन्न हुने गरी निर्माण कार्यलाई अगाडि बढाइएको आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयो।