औषधी नखानेलाई पालिकाको सुविधा रोकिने



नेपाल समाचारपत्र, बाँके।

बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधी नखानेलाई स्थानीय तहबाट कुनै पनि सुविधा नदिने रणनीति बनाइएको छ।

जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजय श्रीवास्तवले हात्तीपाइले रोगविरुद्धको औषधी नखाने व्यक्तिलाई पालिकाबाट कुनै पनि सेवा–सुविधा नदिने प्रस्ताव गर्नुभएको हो।

जिल्ला समन्वय समितिले हात्तीपाइलेका रोगीलाई एक प्रतिशतभन्दा तल  झार्ने पालिकालाई २५ लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ।

यस प्रस्तावलाई आगामी बैठकबाट पारित गर्ने संयोजक श्रीवास्तवले बताउनुभयो।
जिल्ला समन्वय समितिले हात्तीपाइलेका रोगीलाई एक प्रतिशतभन्दा तल झार्ने पालिकालाई २५ लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ।

‘गत वर्ष पनि मैले यो घोषणा गरेको थिएँ। कुनै पनि पालिकाले एक प्रतिशतभन्दा तल झार्न सकेनन्, यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको छु।’ संयोजक श्रीवास्तवले भन्नुभयो– ‘रोगीको संख्या एक प्रतिशतभन्दा तल झार्नुस्, २५ लाख रुपियाँ लैजानुस्।’

बाँकेमा दशौं चरणमा अभियान आइपुग्दा औषधी नै नखाइदिएकाले आशातीत सफलता मिल्न सकेको छैन। जति सम्झाए पनि औषधी नखाइदिएपछि दबाव नै दिएर औषधी खुवाउने रणनीति अघि सारिएको छ।

जिल्लामा खुल्ला दिसामुक्त घोषणा गर्दा पनि दबाव दिइएको थियो। शौचालय नबनाउनेलाई स्थानीय तहबाट सेवा–सुविधा रोकिएको थियो।हात्तीपाइले रोगीले समेत औषधी नखाइदिएको स्वास्थ्यकर्मीको भनाइ रहेको छ।

‘औषधी खाने व्यक्तिले खाइरहन्छन्, नखानेले खाइदिन्नन्’ जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका हात्तीपाइले रोगविरुद्धको अभियानका फोकल पर्सन दुर्गा गौतमले भन्नुभयो–खान नमान्ने व्यक्तिलाई बुझाउन चुनौती बनेको छ।’

बाँकेमा हात्तीपाइले रोगविरुद्धको अभियानका क्रममा औषधी बोकेर महिला स्वयंसेविका घरमा पुग्दा ढोका बन्द गरिदिनेको संख्या उल्लेख्य रहेको छ। सन् २०११ मा अभियान सञ्चालन गर्दा भएका केही असावधानीका कारण दशौं चरणमा आइपुग्दासम्म जिल्लामा नराम्रो छाप परिरहेको छ।

‘हात्तीपाइले रोगविरुद्धको औषधी खाँदा मान्छे मर्छन्’ भन्ने भ्रमले गर्दा रोगीले समेत औषधी खाइदिएका छैनन् जब कि यो औषधीले कुनै हानि गर्दैन।

बाँकेमा अभियान चल्नुअघि २०.८ प्रतिशत रोगी थिए। दशौं चरणको संघारमा आइपुग्दा रोगीको संख्या १० प्रतिशत रहेको छ। सरकारले एक अभियानमा पौने दुई करोड रुपैया खर्च गर्दै आएको छ।

सरकारले ठूलो खर्च गरेर अभियान चलाइरहँदा रोगीसमेत औषधी नखाइदिंदा बाँके असफल जिल्लाको सूचीमा पर्दै आएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले निःशुल्क चल्ने अभियानलाई परीक्षणको रूपमा लिइँदा पनि औषधी सेवन गर्नेको संख्या बढ्न नसकेको बताउनुभयो।

यही माघ २५, २६ र २७ गते औषधी खुवाइँद ैछ। जिल्लामा ६ लाख १ हजार ८ सय ७६ जनालाई औषधी खुवाउने जनस्वास्थ्य अधिकृत अंगत शाहीले जानकारी दिनुभयो। त्यसका लागि ४ सय १६ जना स्वास्थ्यकर्मी र ७ सय ८९ जना महिला स्वयंसेविकालाई परिचालन गरिदैछ।

 

प्रतिक्रिया दिनुहोस्