रुदी ‘बी’ जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन

0
Shares

शिक्षा पन्त, लमजुङ  ।

जिल्लाको रुदी खोलामा निर्मित ६ दशमलब ६ मेगावाटको रुदी ‘बी’ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरू भएकोे छ । परीक्षणपछि विद्युत भार केन्द्रीय प्रसारणमा जोड्ने आयोजनाको तयारी भएको आयोजनका प्रमुख इन्जिनियर सरोज भट्टराईले जानकारी दिनुभयो  । आन्तरिक उत्पादन परीक्षणपछि विद्युत् प्राधिकरणको प्रणालीमा विद्युत् पठाइने उहाँले बताउनुभयो  ।

उत्पादित विद्युत् ९ किलोमिटर दूरीमा रहेको कास्कीको मादी गाउँपालिका–९ मुंग्रेबेंसी सबस्टेसनमा जोडिनेछ । मुंग्रेबेंसीसम्म ३३ केभीको सिंगल सर्किट प्रवद्र्धक आफैंले निर्माण गरेको हो । २०७४ जेठबाट औपचारिक निर्माण थालेको आयोजना निर्माण २० महिनामा सकिएको हो ।

यसअघि बिन्ध्यवासिनी हाइड्रोपावर कम्पनीले रुदी खोलामै ८ दशमलव ८ मेगावाटको रुदी ‘ए’ जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । २०७१ साउन २० मा विद्युत् प्राधिकरणसँग आयोजनाले विद्युत् खरिद–बिक्री सम्झौता गरेको थियो ।

सानिमा बैंकको अगुवाइमा पाँच बैंकले ऋण लगानी गरेको रुदी ‘बी’ जलविद्युत् आयोजनाको १ अर्ब १५ करोड रुपियाँ लागत अनुमान थियो । आयोजनामा लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वःपुँजी रहेको छ ।