लघुवित्त कम्पनीतर्फ लगानीकर्ताको आकर्षण


नेपाल समाचारपत्र, काठमाडौं

शेयर बजारमा लगानीकर्ता अस्थिर देखिएका छन्। बुधबारको कारोबारमा लगानीकर्ताले सबैभन्दा धेरै लघुवित्त कम्पनीतर्फ आकषर््ँित देखिए। बैंकिङ, विकास बैंक, जीवन बीमालगायत समूहमा लगानीकर्ताको खासै रूची देखिएनन्।

बुधबार शेयर बजारमा सामान्य अंकको गिरावट भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार यस दिन परिसूचक शून्य दशमलव २७ अंकले घटेर १३०५ दशमलव ८८ बिन्दुमा पुगेको छ।

यसैगरी सेन्सेटिभ परिसूचक शून्य दशमलव ४९ अंकले घट्दै २७८ दशमलव १९ विन्दुमा पुगेको छ। यस दिन कुल १ सय ७६ कम्पनीको शेयर किनबेच भएको छ। कारोबारमा आएका कम्पनीको २८ लाख ७८ हजार कित्ता शेयर १ अर्ब २९ करोड ३७ लाख रुपियाँबराबर मूल्यमा कारोबार भएको छ।

बुधबार चार उपसमूहबाहेक बाँकी उपसमूहको कारोबार ऋणात्मक बनेको छ। ट्रेडिङ, होटल, निर्जीवन बीमा तथा लघुवित्त समूहको कारोबारमा वृद्धि भएको छ।

तर, बैंकिङ, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादन तथा निर्माण, जीवन बीमा, सामूहिक लगानी कोष तथा अन्य समूहको कारोबार ऋणात्मक बनेको छ।

यसदिन लघुवित्त कम्पनीप्रति लगानीकर्ताहरूको बढी आकर्षण देखिएको छ। यस समूहको कारोबारमा ४ दशमलव ३४ प्रतिशतको वृद्धि भएको छ। कारोबार रकमका आधारमा बुधबार नाडेप लघुवित्त वित्तीय संस्था सबैभन्दा बढी कारोबार गर्ने कम्पनी बनेको छ। यस कम्पनीले ६ करोड ३८ लाख ७६ हजार रुपियाँभन्दा बढीको शेयर खरिदबिक्री गरेको छ।

यसैगरी शिखर इन्स्योरेन्स कम्पनी सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमध्ये दोस्रो नम्बरमा परेको छ। यस कम्पनीले ६ करोड २२ लाख ३९ हजार रुपियाँभन्दा बढीको शेयर कारोबार गरेको छ।

यसदिन सबैभन्दा धेरै नाफा लघुवित्त कम्पनीहरूले कमाएका छन्। नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ९६ प्रतिशतले नाफा आर्जन गरेका छन्।

यसैगरी नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले ९ दशमलव १५ प्रतिशत नाफा आर्जन गरेका छन्। त्यस्तै नेपाल सेवा लघुवित्तका लगानीकर्ताले ८ दशमलव ६६ प्रतिशतले नाफा कमाएका छन्।

यसदिन प्रोगेसिभ फाइनान्स लिमिटेडका लगानीकर्तँले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीले गुमाएका छन्।