सपुत मरेर मात्र देश बन्दैन



डा. टीकाराम पोखरेल

हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए।’

सम्भवतः यो हप्ता कवि भूपि शेरचनको माथिकोकवितांशलाईसबैभन्दा बढीले सम्झे होलान्। भूपिको यो कवितांशभित्रको भावको गहिराइले मात्र होइन, यो हप्ताशहीद दिवसको सन्दर्भ भएकाले पनि यो कवितांशले धेरैको मन मस्तिष्क छुन पुग्यो होला।

भूपिले कवितामा कल्पना नगरेको कुसंस्कार हाम्रा नेताहरूले राजनीतिमा भित्र्याए। राजनीतिभित्रको अराजनीतिक कुचक्रले शहीदको सपनाको अवमूल्यन गर्यो। त्यसैले अब देश बन्नका लागि सपुतहरूले बलिदानी गर्ने होइन, बलिदानी अब भ्रष्टाचारको गर्नुपर्यो,बलिदानी अब कुशासनको गर्नुपर्यो, बलिदानी अबअराजनीतिक क्रियाकलापको गर्नुपर्यो,बलिदानी अब सत्तामोहको गर्नुपर्यो, अनि मात्र देश बन्छ। शहीदहरूप्रतिको सच्चा श्रद्धाञ्जलि पनि त्यही हुन्छ।

तर भूपिले यो पंक्ति लेख्दाको समयमा यी पंक्तिहरूमा जति शक्ति थियो अहिले यो पंक्तिमाथि त्यति नै प्रश्न पनि उठेको छ। के भूपिले सत्य लेखेका थिए ? भूपिले भनेझैँ सपुतहरू मरेर मात्र मुलुक बन्छ त ? बन्छ भने यो देशकासपुतहरू धेरै मरे, तर देश किन बनेन ? केही कारणहरू छन् :

परिवर्तनको अपव्याख्या

वि.सं. २००७नेपालमा राजनीतिक परिवर्तनको पहिलो विन्दु हो। प्रजातन्त्रको प्रादुर्भाव मानिएको यो आन्दोलनको परिणामले राणाको स्थानमा राजा र राजनीतिक पार्टीहरूलाई स्थापित गरायो।

२००७ सालपरिवर्तनका लागि निर्णायकभए पनि १९९७ सालको शहीद काण्ड नै यो परिवर्तनको लागि प्रमुख घटना थियो। जुन काण्डमा गंगालालश्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई राणा शासनको विरोध गरेबापत फाँसी दिइएको थियो।

राणकालमा भएको यो सबैभन्दा ठूलो र जनविरोधी कार्य थियो।यो घटनाले राणा शासनमाथि कलंकको टीका लगाइदिएको थियो। आज पनि शहीद दिवस भन्नासाथ सर्वप्रथम १९९७ सालका चार सपुतको विम्ब हाम्रो वरिपरि घुम्छ।

२००७ सालको परिवर्तनले राणा शासन फाल्नुलाई नै ठूलो उपलब्धि ठान्यो। जनतासँग सरोकार राख्ने अरू कुनै परिवर्तन भएन। बरु दल र दरबारबीच शक्तिसंघर्ष चल्दा २०१७ साल आयो। दलहरू प्रतिबन्धित भए, पञ्चायतको जगजगी चल्यो।

राजतन्त्रलाई निर्विकल्प र पञ्चायतलाई निर्दलीय प्रजातन्त्र भन्ने दाबी गरियो। जनतालाई हावापानी, माटो सुहाउँदो व्यवस्था भन्ने भ्रम छरियो। दलहरूले देश बिगारेको आरोप लगाइयो।

पञ्चायतको विकल्पमा २०४६ मा बहुदल आउँदा फेरि राजतन्त्र र पञ्चायती व्यवस्थालाई देश बिगारेको भन्दै बहुदल आउनासाथ स्वतः विकासको बाढी आउने अर्को भ्रम छरियो। त्यो भ्रमको विरुद्ध फेरि २०६३ मा गणतन्त्रलाई निर्विकल्परूपमा प्रस्तुत गरियो।

जति पनि व्यवस्था आए त्यो व्यवस्थाका उपभोगकर्ताहरूले सबैभन्दा राम्रो व्यवस्था यही हो भने। तर जनताको जीवनस्तरमा भने सामान्यबाहेक सुधार कुनै पनि राजनीतिक व्यवस्थामा देखिएन।सपुतहरू मरे, समृद्धि आएन।

राजनीतिक आवरणमाअराजनीतिक क्रियाकलाप

नेपालको राजनीतिमा आन्तरिक अभ्यासमा जे देखिएको छ त्यो राजनीतिक आवरणमा देखिएको अराजनीतिक गतिविधि हो। राजनीतिमा सिद्धान्तको प्रतिस्पर्धा हुन्छ तर हाम्रो राजनीतिक आवरणभित्र व्यक्ति–व्यक्तिबीच प्रतिस्पर्धा हुन्छ।

एक पार्र्टी अर्को पार्टीबीच प्रतिस्पर्धा हुनुपर्ने विषयमा एउटै पार्टीभित्र लडाइँ हुन्छ। एकै व्यक्तिको स्वार्थले देश बन्धक बन्छ। स्वार्थ मिले सबै मिल्छ, नमिले सबै बन्द हुन्छ। नेताहरूमा एकले अर्कालाई,एक गुटले अर्को गुटलाई सिध्याउने तमासा हुन्छ।

राजनीतिभित्र अपराधीकरण घुस्छ, अपराध राजनीतिमा पस्छ। यो सबै अराजनीतिलाई राजनीतिकरूपमा स्वीकार मात्र गरिँदैन, यस्तो गर्न सक्ने नेतालाई चतुर राजनीतिज्ञको रूपमा अथ्र्याइन्छ।यस्तो भएपछि देश बन्नु त परै जाओस्,सपुतहरूको अपमानसमेत हुन्छ।

नकारात्मक धारको उदय

नेपालको राजनीतिमा पछिल्लो समय नकारात्मक धारको उदय भयो। खासगरी २०४६ को परिवर्तनसँगै अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाले गर्दा मानिसहरू बोल्नका लागि तँछाडमछाड गर्न थाले।

जानेर वा नजानेर एकले अर्काको कुरा काट्नै पर्ने, आफूलाई जान्ने देखाउनै पर्ने, अरूको आलोचना नगरी नहुने, प्रतिवाद नगरी बस्नै नसक्ने, अरूलाई निकम्बा साबित गर्नैपर्ने प्रवृत्ति राजनीतिकवृत्तमा मात्र होइन सर्वसाधारणमा समेत देखा पर्न थाल्यो। भएका उपलब्धि देख्दै नदेख्ने, नभएका गल्ती पनि बढाइचढाइ गर्ने रोगले समाज ग्रस्त भयो।

यसै गरी समाचार माध्यममा नकारात्मक समाचार बिक्न थाले, सकारात्मक समाचारको खँडेरी पर्यो। नकारात्मक राजनीतिलाई रातो कार्पेट बिछ्याएर स्वागत र स्वीकार गरियो। गालीगलौज, तिक्डमबाजी, गुटबन्दीले राजनीतिमा वैधानिकता पायो।

राजनीतिमा छिरेको नयाँ पुस्तासमेत यसैमा रमाउन थाल्यो। समाज मात्र होइन,राजनीति नै नकारात्मक धारमा बग्न थाल्यो। दिनमा ९० प्रतिशत समाचार यस्तै नकारात्मक सुन्नुपर्ने बाध्यता भयो। यसले गर्दा राजनीतिप्रति नै जनताको वितृष्णा बढ्यो।

दलहरूको चरम सत्तामोह

पछिल्लो समय दल र नेताहरूको लक्ष्य नै सत्ता भयो। आफू सत्ता र भत्ता प्राप्त गर्ने ठाउँमा भए सबै ठीकठाक देख्ने र आफू सत्ताबाट बाहिरिनासाथ सबै भद्रगोल देख्ने दृष्टिदोषको रोगबाट कोही पनि नेता र दलहरू अछूतो रहेनन्।

सत्ता पक्षले सबै ठीक छ भन्ने र विपक्षीले सबै बर्बाद मात्र देख्ने गर्दा राजनीति भनेको भ्रमकै खेती रहेछ भन्ने सन्देश जान थाल्यो। जनताले दुवैको दाबीनपत्याए पनि सत्ता र प्रतिपक्षको रटान फेरिएन।

हरेक कुरामासत्तापक्षले आफ्नो बचाउ गर्ने सत्ता–धर्म र विरोध गर्नु प्रतिपक्ष–धर्म भन्ने भ्रम छरियो। बचाउ सत्ताको गर्ने कि सही कुराको ? विरोध गलत कुराको गर्ने कि प्रतिपक्ष भएको नाताले गर्ने ? यस्ता प्रश्न गरियो भने नेताहरू प्रश्न सोध्नेलाई नै भन्ने गर्छन्–तिमीहरूले लोकतन्त्रको मर्म र भावना बुझेकै छैनौ।

आर्थिक परिवर्तन नहुनु

वर्तमान सरकारको नारा नै समृद्ध नेपाल सुखी नेपाली रहेको छ। लामो समयदेखि राजनीतिक परिवर्तनका कुरा भए तर आर्थिक परिवर्तनका कुरा गरिएन भन्ने बोध गरेर नै सरकारले आर्थिक समृद्धिलाई प्राथमिकता दिएको होला। हुन त २०४६ पछि बनेका सबै सरकारले आफ्नो कार्यकालमा आर्थिक कायापलट गरेको र अर्को सरकार आएर बिगारेको दाबी गर्ने गरेका छन्।

तर यस्ता आधारहीन दाबीलाई जनताले पत्याउँदैनन् ? कुनै दल सत्तामा बसेकै भरमा कायापलट भएको मानिदिनुपर्ने,फेरि अर्को दल सत्तामा पुगेमा खत्तम भएको मानिदिनुपर्ने निर्देशित नेताको जस्तो एकपक्षीय विचार जनताले बनाउँदैनन्।

जनताले नेताले भनेजस्तो आर्थिक सुधारको अनुभूति गरेकै छैनन्। जनताको जीवनमा केही सुधार आएको छ भने त्यसको ठूलो हिस्सा निजी क्षेत्रको प्रयासबाट भएको छ।

जनता आर्थिक उपलब्धि चाहन्छन्, नेता राजनीतिक उपलब्धिका कुरा गर्छन्, त्यो पनि आफू, आफ्नो पद र पार्टीलाई केन्द्रमा राखेर गर्छन्।अनि जनताले कसरी आर्थिक कायापलटको गफ पत्याऊलान् ?

शहीदहरूको योगदानको अवमूल्यन

देशमा राजनीतिक परिवर्तनका लागि धेरै सपुतहरूले आफ्नो ज्यानको आहुति दिए। राणाशासन, पञ्चायती राज र राजतन्त्र फाल्ने पटक–पटकका आन्दोलनमा धेरैले आफ्नो ज्यान गुमाए। तर ती शहीदहरूको बलिदानीको सही मूल्यांकन गरिएन। वर्षमा एकपटक शहीदलाई सम्झने औपचारिकता निर्वाह गर्ने मात्र काम भयो।

पछिल्लो समय त शहीदको मर्म नै नबुझी जुनसुकै कारणबाट मृत्यु भएकालाई पनि शहीदको रूपमानाम चढाइयो। यसले देशको स्रोत–साधनको दुरूपयोग मात्र भएन सच्चा शहीदको समेत अपमान भयो।

आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति सच्चा शहीद हो। जोेदेशको लागि आफ्नो बलिदानी गर्न तयार हुन्छ तर आज वर्ग, समूह, क्षेत्रदेखि लिएर दुर्घटनामा परेका समेतशहीद घोषणा हुँदा शहीदको परिभाषा नै घुमिल हुन पुगेको छ। यसरी खुल्लंखुला सच्चा शहीदको अपमान भैरहेको छ।

देशमा राजनीतिक परिवर्तन र आर्थिक समृद्धिका लागि शहीदहरूले बलिदानी गरेका हुन्। यही सन्दर्भमा यो आलेखमा राखिएकाशुरूका पंक्तिभूपिले लेखेका हुन्। तर यतिबेला आएर भूपिलाई प्रश्न गर्न पर्ने भएको छ– कविज्यू ⁄के सपुतले ज्यान आहुति दिँदैमा देश बन्छ र ?

बन्नुपथ्र्यो, तर बनेन। किनभने मरेर गएका सपुतहरूको बलिदानीको मर्म बाँचेकाहरूले बुझेनन्। सत्ता र शक्तिमा लिप्त हुनेहरूले शहीदलाई बिर्से। देश भ्रष्टाचार, कुशासन र अराजनीतिको कुचक्रमा पर्यो। त्यसैले सपुतले बलिदानी दिएर मात्र देश बन्दैन भन्ने पुष्टि भयो।

त्यसो भए के भूपिले सत्य लेखेका थिएनन् भन्ने प्रश्न पनि उठ्छ। तर भूपिले असत्य लेखेका थिएनन्, किनकि देशमा लोकतन्त्र आएपछि पनि कुशासन, भ्रष्टाचार, दुराचार, अराजनीति हाबी होला भन्नेकल्पना भूपिले गरेनन्।

तर भूपिले कवितामा कल्पना नगरेको कुसंस्कार हाम्रा नेताहरूले राजनीतिमा भित्र्याए। राजनीतिभित्रको अराजनीतिक कुचक्रले शहीदको सपनाको अवमूल्यन गर्यो।

त्यसैले अब देश बन्नका लागि सपुतहरूले बलिदानी गर्ने होइन, बलिदानी अब भ्रष्टाचारको गर्नुपर्यो,बलिदानी अब कुशासनको गर्नुपर्यो, बलिदानी अबअराजनीतिक क्रियाकलापको गर्नुपर्यो,बलिदानी अब सत्तामोहको गर्नुपर्यो, अनि मात्र देश बन्छ।शहीदहरूप्रतिको सच्चा श्रद्धाञ्जलि पनि त्यही हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्