हिमपातले बाटो अवरुद्धः गाउँबस्तीमा खाद्यन्नको अभाब


ललित सिंह, बझाङ ।

यस वर्षको हिउँदे झरीसंगै पटक-पटक हिमपात हुँदा बझाङका उच्च लेकाली भेगका गाउँबस्तीमा अहिले जनजीवन प्रभावित भएको छ । जिल्लाको उत्तरी भेगमा रहेको साईपाल गाउँपालिकामा यसपाली हिमपातले धेरै समस्या देखिएको छ । पटक-पटक परेको हिमपातले बाटो अवरुद्ध भएपछि साईपाल गाउँपालिकाका मानिसहरु सदरमुकाम आउन जान बञ्चित भएका छन् । त्यहाँ चल्ने खच्चर भेडाहरु पनि हिमपातले बाटो अवरुद्ध हुँदा रुपातोला र तलकोटबाट माथी लेकसम्म जान सकेका छैनन् ।

सदरमुकाम चैनपुरबाट ५ दिन पैदल हिडेर पुगिने साईपाल गाउँपालिकाको केन्द्ररहेको काडाँ गाउँमा माथिल्लो बस्ती धुलीबाट पनि मानिसहरु आउन सकिएको छैन । धलौन गाउँबाट पनि काडामा जान नसक्दा पालिकाको केन्द्रसंग पनि मान्छेहरुको आवतजावत बन्द भएको छ । साईपाल गाउँपालिका ४ धुली जगेरा घर भएका राजु रोकायासंग सदरमुकाम चैनपुरमा भेट हुदाँ उनले भने घर जाउँ भने बाटोमा धेरै हिउँ परेको खबर छ घर जान नसकेर दुई साता देखि चैनपुरमै बसेको छु । उनी संगै सदरमुकाम आएका अन्य मानिसहरु बीचमा एक दुई दिन मौसम सुधार हुँदा गाउँतिर हिडे पनि अन्य धुली काडाका मानिसहरु भने सदरमुकाम चैनपुरमै रोकिएका छन् ।

लामो समयको झरीसंगै भारी हिउँपातले तलकोट गाउँपालिकाको खौलादेखि साईपाल गाउँपालिका जाने बाटो कुवा, जाडलेक, धलौन लाग्ना ,काकरकोट, काडाँ, काया, बलौडी, धुली सहित सेती पारी न्युनामा पनि ४/५ फिटको हिउँ परेको हुँदा १५/ २० दिनदेखि मान्छेहरु आवतजावत बन्द भएको स्थानीय महिमान तामाङ्गले बताउनु भयो ।

रुपातोला र खौलाबाट साईपाल गाउँपालिकाका लागी खाद्यन्न सामाग्री लिएर हिड्ने खच्चरहरु पनि दुईसातादेखि माथील्लो भेगमा जान सकेका छैनन् । मानिसहरुको आवतजावत बन्द र भेडा खच्चरले खाद्यन्न सामाग्री ढुवानी गर्न नसकेपछि साईपाल गाउँपालिकामा अहिले खाद्यन्न अभाब भएको छ । खाद्यन्न र अन्य समानहरुको अभाब भएपछि त्यहाँ प्रतिकेजी मोटो चामलको १ सय ८० रुपैया र एक पोका तेलको ३ सय रुपैया मुल्यबृद्धी भएको छ भने अन्य समानहरु पनि नपाईने समस्या भएको छ ।

गत महिना ढुवानी भएको खाद्यन्न सामाग्रीहरु सकिएको हुँदा अब साईपाल गाउँपालिकामा रहेका ब्यापारीहरु संग चामल पनि नभएको र घरमा भएको खाद्यन्न पनि सकिएको हुँदा भोकमरी हुने सम्भावना भएको त्यहाँका स्थानीयहरुको चिन्ता रहेको छ ।

साईपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले भने यस पालिको मौसमले हाम्रो साईपाल गाउँपालिकामा त भारी हिउँपात हुदाँ बाटोघाटो बन्द भएर मानिसहरुको जनजीबनमा समेत साहै्र समस्या परेको छ । अस्ती दुईचार दिन घाम लाग्दाँ धलौन सम्म खच्चरहरु पुगेका थिए,उनले भने फेरी पानी र हिउँपात भए पछि बाटो अवरुद्ध भएको छ । लामो समय बाटो अवरुद्ध भएर खच्चर चल्न नसक्दाँ साईपालमा खाद्यन्न अभाब भएको पनि उनले जानकारी दिए । गाउँपालिका कार्यालय सम्म जाने बाटो समेत हिउँ परेर जान नसक्दाँ गाउँपालिका अध्यक्ष सहित अन्य कमचारीहरु समेत सदरमुकाममै रोकिएका छन् ।

दुई वटा नगरपालिका र १० वटा गाउँपालिका रहेको बझाङ्ग जिल्लामा तिब्बत संग जोडीएको जिल्लाको दुर्गम साईपाल गाउँपालिका मात्र सड्क संञ्जाल संग जोडीएको छैन् । त्यहाँ यातायात नपुग्दा र अन्य भौगोलिका बिकटताले टेलिफोन सेवा साथै अन्य सेवा सुबिधा समेत छैन् । यस पालिको लामो समय झरी संगै आएको हिउँपातले जिल्लाको साईपाल गाउँपालिका जस्तै दाँतोला क्षेत्र, रिलु, सुर्मा, भामचौर, दहबगर, गडरायको गोर्खाली क्षेत्रका गाउँबस्तीहरुमा पनि परेको बाक्लो हिउँ अहिले सम्म नपग्लदाँ जनजीवन कस्टकर नै रहेको छ ।